६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

ओलीको कडा चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई चुनौती दिएका छन् । आइतबार गृहजिल्ला झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिएका हुन् । उनले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताए ।

‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको छ राजीनामा गरिदिनुहोस् भनेर । तपाई‌हरुले लडेर जब संसद फिर्ता गरेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न’, उनले भने, ‘अविश्वासको प्रस्ताव राख्नुहोस्, पास गर्नुहोस् । पहिलो पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो, म जनताबाट निर्वाचित भएर आएको हुँ । अहिले पनि तीन करोड नेपाली जनताबाट दुई तिहाइ ल्याएर देखाइदिन्छु ।’

उनले आफू मुद्दा जितेर नभई जनताबाट निर्वाचित भएर, जनताको आशीर्वाद लिएर प्रधानमन्त्री भएको बताउँदै मुद्दा हार्दैमा आफूलाई केही फरक नपर्ने बताए ।

‘मत जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो । गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो’, उनले भने, ‘कसैले मुद्दा जिताइदिएर म प्रधानमन्त्री भएको होइन। मलाई तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको हो।’

उनले आफूहरुले बलिदानी गरेर ल्याएको लोकतन्त्रलाई तलमाथि पर्न नदिने बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०७७ आइतबार ००:००  ५ : २० बजे