मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ बुङ्चीस्थित सिद्धार्थ रंगशालामा जारी प्रथम सूर्योदय कप फुटवल प्रतियोगितामा नवलपरासीको भैरव एफसी विजयही हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको निकै रोचक भीडन्तमा घरेलु टोली राइजिङ स्टार युथ क्लव चन्द्रौटा कपिलवस्तुलाई टाइब्रेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयसम्म दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकर(पेनाल्टी सुटआउट) मा पुगेको थियो । अँध्यारो भएपछि ९० मिनेटपछि थप समयमा खेल नखेलाई भएको पेनाल्टी भैरवको लागि सुखद बन्यो ।
भैरवले ४ पेनाल्टी प्रहार गर्दा ४ मा नै गोल गर्यो भने चन्द्रौटाले दोश्रो र अन्तिम पेनाल्टी गोलपोष्टभन्दा बाहिर प्रहार गर्यो । खेल हेर्न हजारौँको संख्यामा दर्शक आइरहेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) अन्तिम क्ववाटर फाइनलमा हिमालय जनशक्ति रुद्रपुर र आयोजक सूर्योदय सामाजिक विकास संस्थाबीच खेल हुने संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो ।
कपिलवस्तुका बिभिन्न टोलीले यो खेलमा भाग जनाए पनि पराजित भइसकेका छन् । अब कपिलवस्तुको इज्जत जोगाउन आयोजकले कस्तो खेल्ला भोली नै थाहा हुने छ । घरेलु दर्शकमा जिल्लाको इज्जत जोगाउन भोली जित्नै पर्ने दबाबमा सूर्योदय हुने छ ।
उता हिमालय जनशक्ति रुद्रपुरले पनि यसअघिको खेलमा उत्कृष्ट खेल खेलेको थियो । यी दुवैको खेल निकै महत्वपूर्ण र रोमाञ्चक हुने अनुमान गरिएको छ । भोलीको खेलले अन्तिम ४ मा पुग्ने टोलीको टुङ्गो लाग्ने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ पाउने छन् ।
प्रतिक्रिया