मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लीलामणी पोख्रेलले केपी ओलीसंग तत्काल कुनै सहकार्य नहुने प्रष्ट पार्नुभएको छ । ओलीले आफु प्रधानमन्त्री बन्नकै लागि पार्टी एकता गरेका रहेछन् भन्ने अहिले प्रष्ट भैसकेको भन्दै नेता पोख्रेलले अहिलेको अन्तर विरोध विचारधारात्मक रुपमा भएको बताउनुभयो ।
प्युठानबाट काठमाडौं फर्कने क्रममा कपिलवस्तुको चारनम्बरमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटको क्रममा बोल्दै नेता पोख्रेलले ओलीसंग तत्काल सहकार्य नहुने तीन आधार पनि प्रस्तुत गर्नुभयो । उहाँका अनुसार ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीले कारबाही गरेको, दृष्टिकोणमा गम्भीर समस्या र आफुले गरेका गम्भीर गल्तीलाई आत्मलोचना गर्ने छाँट ओलीमा नभएको बताउनुभयो । यी तीन आधार ओलीमा नभएकाले तत्काल उनीसंग सहकार्य सम्भव नभएको उहाँले प्रष्याउनुभयो ।
ओलीसंग बैचारिक रुपमा पनि गम्भीर असहमती रहेको उहाँले सुनाउनुभयो । उनी उदार पुँदीवाद र दलाल पुँजीवादलाई प्रोत्साहनकर्ता रहेको उहाँले आरोप लगाउनुभयो । एमसीसी जस्ता परियोजना पास गर्न मरिहत्ते गर्ने ओलीले कृषि क्षेत्रमा बैदेशिक लगानी भित्राएर उदार पुँजीवादका नायक बन्न खोजेको बताउनुभयो । देशमा स्वरोजगार ल्याउने भन्दा युवाहरुलाई विदेश पठाउने कुरामा ओली अगाडी देखिएको भन्दै उनमा गम्भीर विचारको विचलनता देखिएको बताउनुभयो ।
संसद विघटन गरेर ओलीले प्रतिगमन ल्याएपनि त्यसलाई सर्वोच्च अदालतले असंबैधानिक ठहर गरेको बताउनुभयो । यद्यपि पार्टीको विवाद पनि अझै निरुपण भैनसेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले नेकपाको आधिकारिता टुङ्गाउन ढिलाई गरेको प्रति उहाँले असन्तृष्टि जनाउनुभयो ।
दल सम्ब्न्धि कानुनले ओलीलाई आयोगले आधिकारिक पार्टी दिनै नसक्ने उहाँले बताउनुभयो । ‘निर्वाचन आयोगले ओलीलाई आधिकारीक पार्टी दिनै सक्दैन्, उहाँले भन्नुभयो, हामीलाई दिनै चाहेको छैन्, त्यसैले निर्णय लिन ढिलाई भएको छ । अब धेरै समय यसरी जान सकिन्न, निकास तत्काल निस्कन्छ ।’
यता कार्यकर्ता भेटघाटसंगै लीलामणी पोख्रेलको स्वर्गीय आमाको निधन प्रति हार्दिक श्रद्धाञ्जलीसंगै शोकाकुल पोख्रेल परिवारलाई समवेदना व्यक्त गरिएको थियो । उक्त अवसरमा नेकपाका केन्द्रीय सदस्य डोर प्रसाद उपाध्याय, नेकपा नेता कमल चुदाली, नेकपा प्रदेश कमिटी सचिवालय सदस्य रुद्रलाल बञ्जाडे लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया