८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

३ जिल्लाका होमस्टे समितिलाई जगदिशपुरमा तालिम



मायादेवी अनलाइन, चारनम्बर ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले मुलुकको समृद्धि र विकासको आधार पर्यटन उद्योग रहेको बताउनु भएको छ । उहाँले बृहत लुम्बिनी कपिलवस्तु, रुपन्देही र नवलपरासीको पर्यटकीय क्षेत्रको विकास गरेर प्रदेश सरकारले समृद्धि हासिल गर्ने पनि बताउनुभयो ।

कपिलवस्तुको जगदिशपुरमा शुक्रबार होमस्टे व्यवस्थापन तालिमको उद्घाटन गर्दै सांसद पन्थीले कपिलवस्तुको बुद्धपर्यटन भित्र होमस्टे महत्वपुर्ण पक्ष रहेकाले यसलाई व्यवसायीक र उत्पादनशिल बनाई आर्थिक स्तर उकास्न आवश्यक रहेको बताउनुभयो । उहाँले होमस्टेले विशेष गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई विशुद्ध प्राकृतिकपन वातावरणको सृजना गर्नुपर्नेमा जोड दिनुभयो । तालिमको सफलताको शुभकामना व्यक्त गर्दै पन्थीले सिकेका कुराहरुलाई व्यवहारिक रुपमा लागु गर्न आग्रह गरेका थिए ।

मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमले प्रदेश सरकारले प्रदेश भित्रका होमस्टे सञ्चालन गर्ने समुदायको आर्थिक स्तर उकास्नका लागि लागि परेको बताउनुभयो । उहाले आन्तरिक तथा बाह्य पर्यटकलाई आगमन बढाई देशको विकास गर्नुमा होमस्टेको ठुलो भुमिका रहेको बताउनुभयो ।
महाशाखा प्रमुख गौतमको अध्यक्षता, सांसद पन्थीको प्रमुख आतिथ्यता, पत्रकार महासंघ कपिलवस्तु शाखाका सचिव हरि अधिकारीको आतिथ्यता, मन्त्रालयका अधिकृत कृष्ण प्रसाद पौडेको स्वागत मन्तब्य तथा शाखा अधिकृत आलोक कुमार ओझाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा जगदिशपुर जलाशय सामुदायिक थारु होमस्टे परिसरमा ३ दिने तालिम सुरु गरिएको हो । तालिममा कपिलवस्तु, रुपन्देही र नवलपरासीका होमस्टे व्यवस्थापन समिति तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा तिलक ढकालको नेतृत्वमा ५ जना प्रशिक्षकले प्रशिक्षण दिने बताईएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७ शुक्रबार ००:००  ७ : ०५ बजे