चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
घरेलु मैदानमा न्यू युथ युनियन पाल्पासंग कोब्रा गाइज कपिलवस्तु पराजित हुँदा शुक्रबार २ रेकर्ड बनेका छन् । प्रथम सूर्योदय कप फुटवल अन्तर्गत बाणगंगा नगरपालिका वडा नम्बर १ बुङ्चीस्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा कर्नर गोल र २ ह्याट्रिकको दुर्लभ रेकर्ड बनेका हुन् । स्थानीय प्रतियोगितामा कर्नर गोल देख्न मुस्किल नै हुन्छ भने दुई ह्यट्रिक पनि विरलै हुने गर्दछ ।
कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने टोलीमा सबैभन्दा शशक्त र प्रतियोगिताकै उपाधि दावेदार मानिएको कोब्रा गाइज न्यू युथ युनियन पाल्पासंग निरिह बन्दै ६–३ गोल अन्तरले पराजित भएको थियो । खेल सुरु भएको १० मिनेटबाटै गोलको खाता खोलेको पाल्पाले ९० मिनेटसम्म कोबा्रको पोष्टमा गोलको बर्षा (६) गोल गर्न सफल भयो ।
कोब्राका कमजोर गोलकिपरको फाइदा उठाउँदै पाल्पाले एकपछि अर्को गोल गर्न सफल भयो । पाल्पाको जितमा निकै अनुभवी मानिएका जर्सी नम्बर २५ का रितेश मल्लले ह्याट्रिक गर्न सफल भए भने जर्सी नम्बर १९ का सुमन मगर, जर्सी ७ सन्देश तिमिल्सिना र जर्सी नम्बर १७ का आयुश अधिकारीले एकएक गोल गर्न सफल भए । पाल्पाले ४ गोल पहिलो हाफमा गरेको थियो भने २ गोल दोश्रो हाफमा भयो ।
पाल्पाको जितमा दोश्रो गोल सुमन मगरले कर्नरबाट गरे । २० औँ मिनेटमा पाएको कर्नर प्रहारलाई सुमनले सिधै जालीको दिशा देखाइदिए । कोब्राका गोल किपरलाई त्यो बल नियन्त्रण गर्ने मौका पाएनन् । उनले प्रहार गरेको बल पोष्टको बाँयाँ दिशाको कुनामा जालीभित्र खसेको थियो । यो प्रतियोगिताकै पहिलो कर्नर गोल हो । कर्नरबाट गोल भएको दर्शकलेसमेत भेउ पाएकका थिएनन् । उनीहरु जिल्ल परे ।
पहिलो हाफको अन्त्यतिर कोब्राका तर्फबाट जर्सी नम्बर ९ का सरोज क्षेत्रीले १ गोल गरी टिमको मनोबल उच्च पार्ने काम गरे । केही फरक रणनीतिसहित मैदान छिरेको कोब्राको लागि थप सरोजले नै थप २ गोल गरी ह्याट्रिक गरे पनि जित दिलाउन भने सकेनन् । पहिलो हाफको अन्त्यतिर कोब्राका डिफेन्डर सामर्थ मल्लले गरेको कडा हेड बल पाल्पाका गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए । दाँयाँ कर्नरबाट आएको बललाई सामर्थले हेडमार्फत पोष्टको बाँयाँ कुनाबाट छिराउँदा गोल किपरले उत्कृष्ट डाइफिङ गरी बचाएका थिए ।
एउटै प्रतियोगितामा आज दुई ह्याट्रिक भएको पनि पहिलो रेकर्ड नै हो । खेलको अधिकांस समय दबाबमा रहेको कोब्राले भनेजस्तो खेल देखाउन सकेन । दर्शकको प्रशष्त साथ पाए पनि सेमिफाइनलमै पराजित भएपछि उपाधि चुम्ने कोब्राको सपना समेत चकनाचुर भएको छ । खेलमा ३ गोल गरेका युनियनका रितेश म्यान अफ दि म्याच भए ।
प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) भैरव एफसी नवलपरासी र राइजिङ स्टार चन्द्रौटा कपिलवस्तुकाबीच खेल हुने आयोजक सूर्योदय सामाजिक विकास संस्थाका अध्यक्ष सरोज सेनले बताउनु भयो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ पाउने छन् ।
प्रतिक्रिया