९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रचण्ड-नेपाल पक्षले तय गर्‍यो संगठन समायोजनका ९ आधार



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत पक्षले प्रदेश र जिल्लाका इञ्चार्ज, सहइञ्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनको पदाधिकारीहरुका रिक्त पदमा पदपूर्ति गर्न आधारपत्र तयार गरेको छ । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको हो ।

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरुमा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुने भएको छ ।

नेकपा सो पक्षका अध्यक्षद्वय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालद्वारा हस्ताक्षर गरिएको ९ बुँदे आधार पत्रमा जुन पक्षबाट रिक्त रहेको त्यहि पक्षबाट पद पूर्ति गर्ने उल्लेख गरिएको छ । तर, विशिष्ट अवस्थामा भने त्यस्तो नहुने उल्लेख गरिएको छ । पार्टीले रिक्त रहेका पदमा परिपूर्ति गर्न ६ जनाको कार्यदल बनाएको थियो । जसमा गिरीराजमणी पोखरेल, वर्षमान पुन अनन्त, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा प्रभाकर, घनश्याम भुसाल र योगेश भट्टराई रहेका थिए ।

पार्टीले उक्त आधारपत्र कार्यन्वयन गर्नेछ । पार्टीले अब रिक्त रहेका पदहरु त्यहि आधारपत्रको आधारमा गर्ने ती सदस्यले बताए । बहुमत पक्षले कार्यदल बनाएर एकताको बाँकी काम र ओली पक्षसँग अलग भएपछि रिक्त रहेका पदहरुमा ५०/५० प्रतिशतको आधारमा गर्ने सहमति गरेको छ । पुसमा केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको हो । विभाजन भएपछि बहुमत पक्षले रिक्त रहेका पदहरुमा नयाँ व्यक्तिलाई पदस्थापना गर्ने काम बाँकि नै राखेको थियो ।

यस्तो छ मापदण्ड

१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुन सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष व्यवस्था गर्न सकिनेछ ।

३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटकको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्ने । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्न सक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्मेवारी दिने ।

५. पार्टी केन्द्रीय कमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६. साविक नेकपा (एमाले) पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गिय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)

८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७ आइतबार ००:००  ४ : १८ बजे