मायादेवी अनलाइन, वाणगंगा ।
अनेरास्ववियू कपिलवस्तुले संगठन सुदृढीकरणको अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ । शनिबार जिल्लाको बोडगाउँमा बसेको पहिलो बैठकले एक महिने संगठन सुदृढीकरण अभियानलाई जिल्लाका सबै विद्यालयमा लैजाने निर्णय गरेको अनेरास्ववियू कपिलवस्तुले जनाएको छ ।
गत माघ २४ गते भएको बृहत विद्यार्थी भेलाबाट प्रचण्ड-माधव समूहको अनेरास्ववियू कपिलवस्तुको जिल्ला कमिटी चयन गरिएको थियो ।
बैठकले २९ सदस्यिय जिल्ला सचिवालय गठन गरेको छ भने अनेरास्ववियूको प्रतिगमन विरुद्धको केन्द्रीय संघर्षको कार्यक्रमलाई जिल्लामा सफलतापूर्वक सम्पन्न गर्ने निर्णय भएको छ ।
बैठकलाई सम्बोधन गर्दै नेकपा कपिलवस्तुका अध्यक्ष विष्णु पन्थीले लाखौं नेपालीले आशा र भरोसा गरेको नेकपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विघटनको दिशमा पु¥याएको बताउनुभयो । ५ बर्षसम्म सरकारको नेतृत्व गर्न नेकपालाई पठाए पनि प्रधानमन्त्री ओलीले बीचमै संसद विघटन गरी प्रतिगमन ल्याएको भन्दै डटेर यसको विरोध गर्न आग्रह गर्नुभयो । अबको राजनीतिको नेतृत्व युवाले गर्नुपर्नेमा जोड दिदैं प्रचण्ड-माधवले नेतृत्व गरेको पार्टीको मूल प्रवाह अनेरास्ववियूमा गोलबद्ध हुनु सबैलाई आग्रह गर्नुभयो ।
नेकपा जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ले अब जिल्लामा पार्टी निर्माणको कामलाई अगाडी बढाइने बताउनुभयो । पार्टीबाट केही तत्व चोइटीएर गएको भन्दै अब आफुहरुले नेतृत्व गरेको मूल पार्टीको संगठनात्मक काम जिल्लामा अगाडी बढ्ने बताउनुभयो । नेपाली जनताको आशाको केन्द्र नेकपा रहेको भन्दै अनेरास्ववियूले जिल्लामा राम्रो काम गरेर देखाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
ओलीले चालेको प्रतिगमनलाई सर्वदलीय बैठक बसेर संयुक्त संघर्ष गर्ने निर्णय भएको भन्दै नेकपाका युवा तथा विद्यार्थीलाई यस आन्दोलनमा सरिक हुन आग्रह गर्नुभयो ।
नेकपा अर्घाखाँचीका नेता प्रेम नारायण गैरेरे नेकपा फुटेको नभई केही व्यक्ति कारबाहीमा परेको बताउनुभयो । पार्टी हित विपरित काम गर्ने केही नेता पार्टीको कारबाहीमा परेपछि फुटेको हवला दिदैं हिडेको भन्दै आफुहरुको नेकपा नै आधिकारिक पार्टी भएको बताउनुभयो । नेपालको राजनीति आन्दोलनमा अनेरास्ववियूले खेलेको भूमिका अतुलनीय रहेको भन्दै अब विद्यार्थी आन्दोलनसंगै सिंगो कम्युनिष्ट आन्दोलनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
बैठकमा नेकपा सचिवालय सदस्य नारायण खनाल, सुवाश सल्यानी, अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य कमल भट्टराई, पूर्व अनेरास्ववियू कपिलवस्तु अध्यक्ष सुशील पौडेल, पूर्व कपिलवस्तु उपाध्यक्ष तथा सिद्धार्थ क्याम्पस स्ववियू सभापति सुशील खत्री लगायतले बोल्दै अनेरास्ववियूले कपिलवस्तुमा रचनात्मक तथा सिर्जनात्मक काम गर्न आग्रह गर्नुभएको थियो ।
अनेरास्ववियूका जिल्ला संयोजक दिपक अनुरागीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन जिल्ला सचिवालय सदस्य पुस्कर भुसालले गर्नुभएको थियो ।
बैठकमा जिल्ला कमिटी सदस्यहरुले आ-आफ्नो क्षेत्रमा संगठनको अवस्था र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमबारे सुझाव दिनुभएको थियो ।
प्रतिक्रिया