९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै



काठमाडौं ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए। प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिए पनि पछिल्ला केही बर्ष देखि कटौती गरिएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७ शुक्रबार ००:००  ६ : ०५ बजे