मायादेवी अनलाइन, चारनम्बर ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई सार्वजनिक गरेका हुन् । सुवेदीले अपराधीलाई पत्ता लगाउन खेलेको भूमिका प्रसंसनीय छ । चौतर्फी उनको प्रसंसा छ भने अब निर्मला बलालाको बलात्कारपछि हत्या गर्ने अपराधीको खोज र छानविनको जिम्मा पनि उनलाई नै दिनुपर्ने आवाज आउन थालेको छ ।
अर्कोतर्फ भागिरथीको हत्यामा संलग्न भनिएका दिनेश एक्लै मात्र यसमा समावेश हुन नसक्ने भन्दै अरुको पनि खोजी गर्न प्रहरीमाथि दबाब आउन थालेको छ । भागिरथीका परिवार स्वयम्ले पनि हत्यामा अरुको पनि संलग्नता हुन सक्ने भन्दै छानविन गर्नुपर्ने माग गरेका छन् । यस्तै दिनेश नाबालक रहेकोमा कस्तो सजाय दिने, त्यो नाबालकले एक्लै कसरी त्यस्तो जघन्य घटायो ? के दिनेश नै भागिरथीको हत्यारा हो त ? लगायतका धारणा पनि सामाजिक संजालमा राखिरहेका छन् ।
यसैक्रममा रुपन्देही कञ्चन गाउँपालिकाका दीपक पौडेलले पनि दिनेश भागिरथीको हत्यारा नै हो त भनी फेसबुकमा लेख्नुभएको छ । उहाँले हत्याकाण्डमा दोषी नउम्कियोस् र निर्दोष नफसोस् भन्दै लेख्नुहुन्छ “निर्मला हत्याकाण्डका दोषीलाई अहिलेसम्म सरकारले पत्ता लगाउन सकेको छैन। हत्यारा पत्ता लगाउन चौतर्फी दबाब भएपछि एक मानसिक संतुलन ठिक नभएको व्यक्तिलाई हत्यारा पत्ता लाग्यो भनेर हल्ला गर्ने र निजलाई यातना दिइएको थियो । अन्त्यमा तथ्य प्रमाण नपुगेको हुनाले हिरासत मुक्त गरिएको थियो । अहिले भागिरथीको बलात्कार पछि भएको हत्याको दोषीलाई पत्ता लगाइएको दाबी प्रहरीले गरिसकेको छ । प्रहरीका अनुसार दोषीले हत्या गरेको स्विकार गरेको बताइएको छ। यस सम्बन्धि थप अनुसन्धान अझै जारी रहेको बताइएको छ। भनिएका हत्यारा दिनेश भट्टको उमेर र मृतक भागिरथीको उमेर लगभग समान छ । समान उमेर भएको र शारीरिक रुपमा कमजोर नभएको अवस्थामा बलात्कार हुनसक्ने सम्भावना एकदम कम हुन्छ । प्रहरीले बलात्कार पछि हत्या भएको भनी प्रारम्भिक अनुसन्धान गरेको छ। देनेशले बलत्कार नगरेको र हत्या गरेको भनी स्विकार गरेको भनेर संचार माध्यममा आइरहेको छ। बलात्कार लगायतका बिषयमा मेडिकल रिपोर्ट आउन बाँकी छ वा दबाइएको छ ? पछि खुल्दै जानेछ । यो हत्याकाण्डमा दोषी नउम्कियोस् र निर्दोष नफसोस् ! सत्यतथ्य पत्ता लगाउन चौतर्फी दबाब सृजना गरौं ।”
प्रतिक्रिया