मायादेवी अनलाइन, चारनम्बर ।
होङ्वान्जी न्यु डायमन्ड एकेडेमी काठमाडौं प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । कपिलबस्तु वाणगंगा वडा नम्वर २ पिपरास्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको खेल मैदानमा मंगलबार भएको खेलमा डायमन्डले कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बनेको हो । एकपक्षीय खेलमा डायमन्डले कुँवरवर्तीमाथि पहिलो सेटमा २५–१९ को जित निकाल्दा दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१२ को सहज जित निकाल्न सफल भयो ।
त्यसअघि तेस्रो स्थानको लागि भएको खेलमा न्यु होराइजन स्पोर्ट्स क्लब बुटवलले एभरेष्ट बोर्डिङ स्कुलमाथि ३–१ को सहज जित निकाल्यो । पहिलो सेट १५–२५ ले गुमाएको होराइजनले त्यसपछिको तीन सेट २५–१२, २५–२१ र २५–१६ ले सहज जित निकाल्न सफल भयो ।
त्यसअघि सेमिफाइनलमा डायमन्डले न्यु होराइजन स्पोर्ट्स क्लबलाई २५–१२, २५–२२ र २५–१५ ले तथा कुँवरवर्तीले एभरेष्ट स्कुललाई २५–१६, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
उपाधिसँगै डायमन्डले १ लाख रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको कुँवरवर्तीले ७० हजार, तेस्रो भएको न्यु होराइजनले ४० हजार तथा चौथो भएको एभरेष्टले २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
विजयी टोलीलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष दिपक खनाल, लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विष्णु पन्थी, विद्यालयका सञ्चालकहरु, प्रबन्ध निर्देशक, प्राचार्य, सहायक प्राचार्य, वाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा नम्वर २ का वडा अध्यक्ष विष्णु पौडेललगायत भलिबल रेफ्रीहरुले पुरस्कृत गरे ।
हिलबर्ट इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा २ फागुनबाट सुरु भएको भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।
विधागत पुरस्कार ककसले पाए ?
होङ्वान्जी न्यु डायमन्ड एकेडेमीकी झरना श्रेष्ठ प्रथम हिलबर्ट महिला भलिबल च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
डायमन्डलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठले ५ हजार रुपैयाँसँगै ट्रफी हात पारिन् भने अन्य विधागत पुरस्कार पाउनेहरुले नगद ३ हजार र ट्रफी हात पारेका थिए ।
अनुशासित खेलाडी – राधा बुढाथोकी (कुँवरवर्ती)
स्पाइकर – लक्ष्मी चन्द (न्यु होराइजन)
सेटर – प्रतिक्षा गुरुङ (डायमन्ड)
ब्लकर – बालमिका आचार्य (डायमन्ड)
डिफेन्डर – एन्जिला प्रधान (डायमन्ड)
सर्भर – रिया कुँवर (डायमन्ड)
उदियमान खेलाडी – रिचा थापा (कुँवरवर्ती ‘बी’)
प्रशिक्षक – कुमार राई (डायमन्ड)
प्रतिक्रिया