९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भूमिहिनले जग्गा पाउने भएपछि सलबलाउन थाले भूमाफिया, वाणगंगाको सिसेनी गाउँमा लगाए आँखा



मायादेवी अनलाइन, वाणगंगा ।
बर्षौ देखि फुसका टहरा बनाएर बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासीको बस्तीमा भुमाफियाले आफ्नो जग्गा भएको बताउन थालेका छन् । कपिलवस्तुको वाणगंगा नदी किनाराको नदी उकास जग्गामा टहरा बनाएर बसेका भूमिहिन सुकुम्बासीको बस्तीमै भूमाफियाले जग्गाको आफ्नो दावा पेश गर्न थालेका हुन् ।

भूमि सम्बन्धि समस्या समाधान आयोगले जग्गा प्राप्तिका लागि भूमिहिन सुकुम्बासी बस्तीमा लगत संकलनको कामलाई तीव्र बनाएका बेला भूमाफिया सलबलाउन थालेका छन् । लगत संकलन गरे लगत्तै भूमाफियाले अमिन ल्याएर बस्ती नपाउन थालेपछि गाउँले चिन्तामा परेका हुन् ।

वाणगंगा नगरपालिका वडा नं. ८ को सिसेनी बस्तीको जग्गा आफ्नो नाममा रहेको भन्दै भीमलाल सापकोटा आएपछि मंगलबार पत्रकारलाई बोलाएर स्थानीयले आ–आफ्नो गुनासो राखेका छन् ।

एक हप्ता अगाडी वाणगंगा नगरपालिकाबाट आएको भूमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन इकाईको टोलीले सिसेनीमा लगत संकलन गरे लगत्तै भूमाफियाले आफ्नो जग्गा भएको दाबी गर्न थालेको गाउँलेले गुनासो गरेका छन् ।

बर्षौ देखि नदी उकासको क्षेत्रमा टहरा बनाएर बसेको ठाउँमा अहिले आएर मेरो जग्गा भन्न थालेपछि गाउँले चिन्तामा परेको चुजा मियाँले बताउनुभयो । ३०/३२ बर्ष देखि आफु यस बस्तीमै बसेको भन्दै अहिलेसम्म कसैले मेरो हो नभनेको जग्गामा अहिले एकाएक भीमलाल सापकोटाले आफ्नो जग्गामा किन बसेको भन्दै प्रश्न गरेको उहाँले सुनाउनुभयो ।

नदी उकास जग्गामा बसेपनि नगरबाट विद्युत, खानेपानी, बाटोको सुविधा स्थानीय सरकारबाट मिलेको सम्दीम मियाँले बताउनुभयो । आजसम्म कसैले मेरो हो नभनेको स्थानमा अहिले आएर एकाएक आफ्नो जग्गा भएको दावी आउन थालेको उहाँले बताउनुभयो ।

सिसेनी गाउँको सुकुम्बासी बस्तीमा झण्डै ३५/४० घरधुरी छन् । अधिकांश मुस्लिम समुदायका रहेका यो बस्तीमा जनजाती, दलितको पनि बसोबास छ । दिनभर वाणगंगा नदीमा ढुङ्गा, गिट्टी, बालुवा चालेर छाक गुजारा गर्दै आएका यहाँका सर्वसाधारण अहिले आफु बसेको ठाउँमा अर्कैले दावा गरेपछि चिन्तामा परेका हुन् ।

सुकुम्बासीबस्तीमा अर्कैले सम्पत्ती दावा गरेपनि त्यो निराधार झुठो रहेको स्थानीयष् राजनीति दलका नेताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ओली समूहका जिल्ला सचिवालय सदस्य कर्ण बहादुर लामाले बर्षौ बसोबास गर्दै आएका यहाँका सुकुम्बासीबस्तीमा कसैले आँखा लगाउन नपाउने बताउनुभयो ।

घरबारविहिन व्यक्तिलाई अहिलेको सरकारले जग्गाको बन्दोबस्त गर्न थालेको भन्दै नदी उकासको जग्गामा बर्षौ बसेका नागरिकलाई डर, त्रास र धम्की दिन थालिएको भन्दै आपत्ति जनाउनुभयो । सिंगो बस्तीको जग्गामा आफ्नो भएको दाबी गर्ने व्यक्ति जुनसुकै दलको भएपनि आफ्नो पार्टीको विरोध रहने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य ऋषिराम शर्माले पनि सिसेनी बस्ती सिंगो सुकुम्बासीबस्ती रहेको बताउनुभयो । आफु पनि स्थानीय भएको भन्दै बर्षौदेखि घर बनाएर बसेका सर्वसाधारणको जग्गामा अहिले आएर आफ्नो जग्गा भन्नु सरासर बेइमानी भएको बताउनुभयो ।

भीमलाल सापकोटाले सिसेनी बस्ती आफ्नो भएको दाबी गरेपनि जिल्ला मालपोत कार्यालयमा उक्त जग्गा सापकोटाको नाममा नभएको खुलेको छ । जिल्ला मालपोतमा गएर बुझ्दा कित्ता नं. १०४४ को जग्गा भनेपनि कसैको नाममा नभएको पाइएको हो । यो कित्ता नं.मा सिंगो सुकुम्बासी बस्ती छ ।

No description available.

प्रकाशित मिति : ४ फाल्गुन २०७७ मंगलबार ००:००  ३ : ०६ बजे