मायादेवी अनलाइन, जितपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुका सचिव रामचन्द्र शाह (विष्णु) ले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली नयाँ राजा बन्न खोजेको बताउनुभएको छ ।
वर्तमान सरकारले आफैलाई कमजोर महसुस गरेर ठाउँठाउँमा पञ्चर्याली आयोजना गरेको भन्दै ओलीको तानशाह अब धेरै समय नटिक्ने बताउनुभयो ।
२६ औं जनयुद्ध दिवसको अवसरमा प्रेस संगठन कपिलवस्तुले आइतबार तौलिहवामा आयोजना गरेको अन्तरक्रिया तथा चियापान कार्यक्रममा बोल्दै शाहले उक्त कुरा बताउनुभएको हो ।
अबका केही दिनमै संसद पूर्नस्थापना हुने भन्दै अब केपी ओली नदेखिने गरी परास्त हुने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ‘कु’ गरेको उहाँले आरोप लगाउनुभयो ।
सरकारको अलोकतान्त्रिक कदम विरुद्ध अब राजनैतिक दलहरुले संयुक्त मोर्चाबन्दी गरेर संघर्ष गर्नुपर्ने बताउनुभयो । जिल्ला भित्रका सबै दललाई संयुक्त मोर्चाबन्दी गरेर ओली कदमको विरुद्धमा उत्रन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले अब पत्रकारले सहिदका सपना पुरा गर्नेगरी लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा जिल्ला प्रचार प्रसार विभागका सह–संयोजक बसन्त गिरी, प्रेस संगठनका केन्द्रिय सदस्य मनिस कार्की, प्रेस युनियनका जिल्ला सभापति गोपाल भण्डारी लगाएतले बोल्दै जनयुद्ध दिवसको अवसरमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रम महासंघका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता, अर्जुन बेल्वासेको स्वागत मन्तब्य र संगठनका सह–संयोजक हरि अधिकारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार महासंघमा थपिएका नयाँ सदस्यलाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया