९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देउवा भन्छन्ः सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र केपी शर्मा ओली र प्रचण्ड-नेपाल पक्षले सूर्य चिन्ह आफूले पाउनु पर्ने दाबी गरिरहेका छन्। ओली र प्रचण्ड-नेपाल पक्षले आफूहरू नै आधिकारिक नेकपा भएकोले सूर्य चिन्ह पाउनुपर्ने दाबी निर्वाचन आयोगसँग गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर वैशाखमा निर्वाचन घोषणा गरेका छन् तर यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ।

नेकपाका दुबै पक्षबीच सूर्य चिन्ह कसले लिने भन्नेमा रस्साकस्सी चलिरहेका बेला सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसको समाधानको उपाय सुझाएका छन्।

सूर्य एउटै भएकोले दुई समूहमा विभाजित नेकपालाई दिन नसकिने भएकाले सूर्यबाहेक अरू चिन्ह आयोगले दिएर विवाद समाधान गर्न सक्ने देउवाको भनाइ छ।

भैरहवामा आयोजित सभामा बोल्दै देउवाले भने, ‘नेकपाभित्र चुनाव चिन्हमा झगडा छ। निर्वाचन आयोगले किन चुनाव चिन्ह दिइरहेको छैन ? ओलीले पाउने भए ओलीलाई नभए प्रचण्डलाई सूर्य चिन्ह दिए भइहाल्यो ।’

यी दुई समूहमध्ये कसैले पनि सूर्य चिन्ह नपाउने भए आयोगले समयमै यसबारे छिनोफानो गरिदिनुपर्ने देउवाको भनाइ छ।

‘कसलाई सूर्य चिन्ह दिने भन्ने निर्णय अहिलेसम्म गर्न नसक्नेरु,’ निर्वाचन आयोगप्रति प्रश्न गर्दै देउवाले भने, ‘सबैभन्दा बेस त चुनाव चिन्ह अरू नै दिए भइहाल्यो । सूर्य एउटै छ, दुइटा पार्टीलाई एउटा चिन्ह कसरी दिने ?’

सूर्य चिन्ह एउटा र नेकपाभित्र दुइटा समूह भएकोले सूर्य चिन्ह बाँड्न नमिल्ने देउवाले बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०७७ सोमबार ००:००  ४ : ४२ बजे