काठमाडौं ।
अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
यस्तै अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो । अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्च अदालतले तामेलदार खटाएको थियो । तर अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् ।
तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका हुन् ।
प्रतिक्रिया