बुटवल ।
लुम्बिनी प्रदेश सरकार स्थापना भएको तीन वर्ष पुरा भएको छ । २०७४ सालमा भएको निर्वाचनपछि शकर पोखरेलको नेतृत्वमा तत्कालिन प्रदेश नम्बर ५ मा प्रदेश सरकारको गठन भएको थियो। पोखरेलले २०७४ साल फागुन ३ गते प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा सपथग्रहण गरेका थिए।
सोही दिन मुख्यमन्त्री पोखरेलसँगै आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा कुलप्रसाद केशी र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पनि सपथ ग्रहण गरेका थिए। पछि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरि, सामाजिक विकास मन्त्री, सुदर्शन बराल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले पनि सपथ ग्रहण गरे।
सुरुवातमा अहिले मुख्यमन्त्रीको कार्यालयसँगै सोही भवनमा चार वटा मन्त्रालय राखीएको थियो । अहिले सबैजसो मन्त्रालयका छुट्टा छुट्टै व्यवस्थित कार्यालय छन्। डिभिजन सडक परिषरमा चारवटा मन्त्रालय रहेका छन् । मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालय पनि करिब करिब व्यवस्थित छन्।
२०७७ असोज २० गते प्रदेश सभाबाट पाँच नम्बर प्रदेशको नामाकरण भएपछि लुम्बिनी प्रदेश भएको छ। साथै सोही दिन प्रदेशको राजधानी दाङको देउखुरीलाई तोकिएको छ। प्रदेश सभाबाट स्थायी राजधानी दाङ तोकिएपछि बुटवलमा रहेका मन्त्रालयहरु पनि सार्ने तयारी हुँदैछ ।
गत वर्ष अस्थायी मुकाम बुटवलमा मनाइएको प्रदेश स्थापना दिवस यस वर्ष स्थायी राजधानी तोकिएको स्थान देउखुरीमा मनाइँदै छ। प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभुषित गरिने छ । गत असोज ३ गते प्रदेश सरकारले ११ प्रकारको पदक मार्फत ५८ जनालाई विभुषित गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया