९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लवलेक जङ्गलभरि प्रहरीको सर्च अपरेशन, क्लोज रिङमा ४ जना



काठमाडौँ
बैतडीको दोगडाकेदार–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन बिते पनि अपराधी भने पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बसिरहेका छन् ।

अनुसन्धानमा आफै खटिएर कमाण्डरको भूमिका निभाइरहेका डिआईजी सुवेदी दिनभर प्रहरी चौकीमै हुन्छन् । प्रत्येक समय अनुसन्धान अधिकारीसँग रिपोर्टिङ लिइरहेका हुन्छन् । अनि आफूले पाएको सूचना र प्रगतिबारे प्रहरी महानिरीक्षक, प्रदेश सरकार र गृह मन्त्रालयसमेतलाई जानकारी गराइरहेका हुन्छन् ।

कञ्चनपुरकी निर्मला पन्त घटनासँग धेरै कुरामा मिल्दोजुल्दो यो घटनालाई निर्मला पन्त प्रकरण बन्न नदिने अठोट गरेका डिआईजी सुवेदी प्राविधिक विश्लेषण र फरेन्सिक रिपोर्टपछि अपराधी पक्राउ पर्ने विश्वासमा छन् । तर मोबाइल, सामाजिक सञ्जाल आदिसँग सम्बन्धित प्राविधिक विश्लेषण र प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आउनुु पर्ने भेजाइनल स्वाब लगायतका प्रमाणहरुको रिपोर्ट नआउञ्जेल सम्म तत्काल थप केही गर्न नसक्ने भएपनि प्रहरी चुपचाप बसेको भने छैन । कुनै समय एकजना प्रहरी सहायक निरीक्षक सई को नेतृत्वमा केही सङ्ख्याका प्रहरी रहने खोचलेक प्रहरी चौकी अहिले दैनिक ६० भन्दा बढी प्रहरी अधिकृतहरुको रिपोर्टिङको केन्द्र बनेको छ ।

अहिले दोगडाकेदार गाउँपालिका ७ मा रहेको प्रहरी चौकीमा रहेको थोत्रो भवनमा डिआईजीसहितका प्रहरी टोली बसिरहेका छन्, कारण भागरथीको बलात्कारपछि हत्यामा संलग्न अपराधी कुनै पनि हालतमा उम्कन नपायोस् । यतिबेला खोचलेकमा ६० जनाभन्दा बढी सादा पोसाकका प्रहरी अनुसन्धानका लागि खटिएका छन् । ती मध्ये अधिकांश अधिकृतस्तरका प्रहरी छन् र दिनरात नभनी काम गरिरहेका छन् ।

केही दिन अगाडिमात्रै प्रहरीले लवलेक जङ्गल भरी आफ्नो सर्च अपरेशन चलायो । उक्त स्थानमा पुुग्न सकिने सबै सहायक बाटो तथा जङ्गलका प्रत्येक क्षेत्रमा सर्च गर्यो । त्यही क्रममा प्रहरी टोलीले भागरथीको मोबाइलको ब्याट्री र चाउचाउको खोल बरामद गरेको छ । यी दुई प्रमाण पनि अनुसन्धानका लागि प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले केही दिनअघि फेरि पूरै जङ्गलमा सर्च अपरेशन चलाएको थियो । कुनै नयाँ प्रमाण पाइन्छ कि भनेर सिआईबी टोलीले जङ्गलको चक्कर काटेको थियो । भागरथी आफ्नो विद्यालयबाट निस्केको समय अर्थात् पौने २ बजेपछिको प्रत्येक समयको प्रहरीले सुक्ष्म विश्लेषण गरिरहेको छ । विद्यालयबाट निस्केर खोचलेक बजारमा चाउचाउ किनेकी भागरथीको त्यसपछिको प्रत्येक पलपलको सुक्ष्म विश्लेषणमा प्रहरी जुटेको छ । उक्त दिन बजारमा रहेका प्रत्येक व्यक्तिको विवरण संकलन, क्लोज रिङ, मोबाइलको लोकेशन आदि विषयमा प्रहरी विश्लेषण गरिरहेको छ ।

बैतडीमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार अहिले प्रहरीले ४ जनाको क्लोज रिङ तयार पारेको छ । अपराधी ती ४ जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पुुगेको छ । किनभने ती ४ शंकितहरु सबैको कनेक्सन खोचलेक बजारसँग जोडिएको छ ।

उक्त दिन उनीहरु मध्ये केही खोचलेक बजारमा देखिएका थिए, केहीले मदिरासमेत सेवन गरेका थिए र एक जनाको बिगत पनि त्यति राम्रो देखिएन थिएन । र, अनुसन्धानको क्रममा ती ४ जनामध्ये २ जनाको प्राविधिक विश्लेषण गर्दा उनीहरु अपराधमा संलग्न भएको हुनसक्ने धेरै तथ्य र प्रमाणहरु पाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७ सोमबार ००:००  १२ : ०८ बजे