९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदीप पौडेलको प्रश्न : यो निर्वाचन आयोग हो कि कम्युनिस्ट आयोग ?



वीरेन्द्रनगर।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक ढंगले गरेको संसद विघटनमा अदालतले संविधानमा भएको व्यवस्थाअनुसार व्याख्या गर्ने बताएका छन्। सुर्खेतमा सोमबार पार्टी कार्यकर्तासँग पौडेलले अदालतलाई संविधानमा धारा थप्ने अधिकार नभएको बताएका हुन्।

शक्ति दुरुपयोग गरी ओलीले संसद् विघटन गरेकाले अदालतले संविधानका धारालाई व्याख्या गरेर फैसला गर्ने उनले बताए। ‘यो विषय अदालतमा गएको छ, हामी बोल्न मिल्दैन भन्नुहुँदैन। आफूले देखेको कुरा साक्षीका रूपमा प्रस्तुत हुनुपर्छ,’ उनले भने, ‘हाम्रैअगाडि कसैले मान्छे मारेको छ। त्यो आफूले प्रत्यक्ष देख्दा पनि अदालतले फैसला गरेपछि बोल्छु भन्नु मूर्खता हो।’

वैशाखमा निर्वाचन हुन नसक्ने र प्रधानमन्त्रीमा निर्वाचन गर्ने नियत नभएको पौडेलले बताए। ‘प्रधानमन्त्रीले निर्वाचन गर्ने नियतले संसद् विघटन नै गरेका होइनन्,’ उनले भने, ‘हुनै नसक्ने निर्वाचनका पछाडि लाग्न जरुरी छैन।’ नेकपाको आन्तरिक विवादमा निर्वाचन आयोगले सहजीकरण गरेको पौडेलले आरोप लगाए।

‘नेकपा विभाजन भइसकेको छ। एक पक्षले अर्को पक्षलाई कारबाही गरेको आयोगलाई जानकारी दिएका छन्,’ उनले भने, ‘आयोगले तपाईंहरू एउटै पार्टी हो भनेर भन्छ।’ निर्वाचन आयोग नभएर कम्युनिस्ट आयोगजस्तो भएको पौडेलको आरोप छ। ‘यो निर्वाचन आयोग हो कि कम्युनिस्ट आयोग ?’ उनले भने, ‘नागरिकलाई छुट्याउन नै गाह्रो भएको छ।’

प्रकाशित मिति : २ फाल्गुन २०७७ आइतबार ००:००  ७ : ३७ बजे