बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरीदेवी चौधरीले नेकपाको प्रचण्ड-नेपाल समूह परित्याग गरेका छन्।
यसअघि नेकपा नेता घनश्याम भुसालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय थिए।
प्रचण्ड-नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए । घनश्याम भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ।
नेकपा महासचिव बिष्णु पौडेलले आइतबार बिहान एउटा तस्बिर फेसबुकमा पोष्ट गर्दै घिमिरे र चौधरी आफूहरूसँगै रहेको पुष्टि गरेका छन् । घिमिरेका प्रेस सल्लाहकार बिपी गौतमले पनि नगर प्रमुख र उप-प्रमुखसगै अधिकांश कार्यपालिका सदस्यहरू ओली समूहमै रहेको बताए।
बुटवलको भेलालाई सम्बोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उप-प्रमुख चौधरीसहित सैनामैनाका प्रमुख चित्र कार्की भैरहवा विमानस्थल पुगेका थिए।
घिमिरेको समूह परिवर्तनसँगै रुपन्देहीको राजनीतिमा नयाँ तरंग आएको छ । बुटवलमा सम्पन्न नेकपा जनसभालाई सम्बोधन गर्न शुक्रबार बुटवल आएका पौडेल शनिबार नै काठमाडौ फर्किने कार्यतालिका रहेको भए पनि घिमिरे र चौधरीसँगको छलफल र भेटघाटका लागि रोकिएर आइतबारमात्रै काठमाडौं फर्किएका छन् । सेतोपाटीबाट
प्रतिक्रिया