काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको बताएका छन्। शाहकै युद्धकलाबाट अभिप्रेरित भएर जनयुद्धको नेतृत्व गरेको प्रचण्डले बताए।
काठमाडौँमा आयोजित शहीद स्मृति कार्यक्रममा प्रचण्डले भने, ‘सानो राज्य गोरखाले काठमाडौँ, ललितपुर र भक्तपुर जस्ता आर्थिक रुपले सम्पन्न राज्यमा कसरी विजय हाँसिल गरेको होला भन्नेतर्फ नै मेरो बढी ध्यान केन्द्रीत हुने गरेको थियो।’
अध्ययन गर्दै जाँदा यो सफलताभित्र पृथ्वीनारायण शाहको युद्धकला जोडिएको आफूले थाहा पाएको प्रचण्डले बताए। ‘जनताका भावना र आवश्यकतालाई उजागर गर्ने सक्यो भने सकिँदो रहेछ भन्ने निष्कर्ष पृथ्वीनारायण शाहको युद्धकलाको अध्ययनपछि मैले निकालेको थिएँ’, प्रचण्डले भने।
उनले हजारौँको बलिदानबाट प्राप्त उपलब्धी खतरामा रहेको उल्लेख गर्दै फेरि एकचोटी बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने बताए। आफूहरु मर्नबाट बाँचेका मान्छेहरु रहेको बताउँदै प्रचण्डले शहीदका सपनामाथि कुठाराघात भए कंकालहरुको जुलुस निस्कने चेतावनी दिए।
‘हामी युद्धका क्रममा नै मारिन सक्थ्यौँ । हामी बाँचेका छौँ । ती महान शहीदहरुको बलिदानबाट प्राप्त भएको उपलब्धीलाई कुल्चिने दुस्साहस भएको छ । हामी सहन सक्छौँ त’, प्रचण्डले भने, ‘ फेरि बलिदान हुन तयार छौँ भनेर संकल्प गर्ने दिन हो आज।’ प्रचण्डले युद्धलाई शान्ति, शान्तिलाई संविधानसभा र संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भइए पनि अहिले दक्षिणपन्थी कित्ताबाट त्यसमा प्रहार भइरहेको बताए। ‘केपी ओलीहरुले यो उपलब्धी किच्न सक्छु ठानेका छन् उनी छिटै भ्रममुक्त भएको राम्रो हुन्छ’, प्रचण्डले भने, ‘हैन भने शहीदहरुका हजारौँ कंकालहरु चिहानबाट निस्कनेछन्।’
प्रतिक्रिया