काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । आज पुष्पकमल दाहाल प्रचण्डसमुहले राजधानीमा कार्यक्रम गरेको छ भने ओलीतर्फबाट आज कुनै कार्यक्रम तय गरेको छैन । तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेपछि भने अहिले फुटको स्थिति छ ।
गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।
रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।
नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजी कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।
यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्राध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।
माओवादीले आफूहरुसँग ३२ हजार सेना रहेको दाबी गर्दथ्यो । यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण ग¥यो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार ६३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए । प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए । १ हजार ४ सय २१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए ।
प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै नेकपा पनि दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् ।
माओवादी जनयुद्धको लक्ष्य र उद्देश्य पूरा नगरी पार्टी नेतृत्व सत्ताको खेलमा अलमलिएको भन्दै कतिपय पूर्वमाओवादीहरु असन्तुष्ट छन् ।
प्रतिक्रिया