९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उपाध्यक्षसहित जसले कपिलवस्तु उद्योग बाणिज्य संघमा प्रतिनिधित्व गरे



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु उद्योग बाणिज्य संघले सातौँ अधिवेशनको क्रममा भएको निर्वाचनबाट अध्यक्षसहित ३६ सदस्य (मनोनित बाहेक) पाएको छ । यसमध्ये ३२ जना पुरुष रहेका छन् भने बाँकी ४ जना महिला रहेका छन् । हुन त महिला प्रतिनिधित्वको हिसाबले यो संख्या सविधानतहः पूर्ण होइन । संविधानले कुनै पनि संघसंस्था, सहकारी या राजनैतिक दलमा कम्तिमा पनि ३३ प्रतिशत महिलाको सहभागिता(अधिकार) ग्यारेन्टी गरेको छ । संख्याको हिसाबमा यो संख्या थोरै भए पनि प्रमुख पद पनि महिलाले पाएकोमा यसलाई सुखद मान्न सकिन्छ ।

उद्योग संघको सातौँ नेतृत्वसम्म आइपुग्दा महिलाले प्रमुख पद पाएका थिएनन् तर आठौँ नेतृत्व डोलकराम घिमिरेले पाउँदा उहाँसंग प्रमुख पद अर्थात् उपाध्यक्षमा एक जना महिलाको पनि प्रतिनिधित्व छ । जसले गर्दा दिदीबहिनी खुसी भएका हुन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ४ जितपुरमा हार्डवेयर संचालन गरिरहनु भएकी तथा रोटरी क्लव अफ कपिलवस्तु मिडटाउन र अरु संस्थामा जोडिनु भएकी इन्दिरा तिमिल्सिनालाई मतदाताले भोट हालेरै महिला उपाध्यक्ष पदमा चुनेका हुन् ।

यस्तै संघमा महिला सदस्य (उद्योग) को रुपमा वडा नम्बर ७ वोडगाउँकी गीतादेवी पौडेलले पनि प्रतिनिधित्व पाउनु भएको छ । उहाँ बाणगंगामा क्रसर व्यसायी हुनहुन्छ । महिला सदस्य (वाणिज्य) तर्फ मिना पोख्रेलको प्रतिनिधित्व छ । उहाँ पनि बाणगंगा ८ लौगाइमा बसी विगत १२ बर्षदेखि खाद्यान्ह पसल संचालन गर्दै आइरहनु भएको छ ।

यसैगरी कपडा व्यवसाय गरिरहनु भएकी वडा नम्बर २ पिपराकी लक्ष्मी थारुको पनि संघमा कृषि उद्यम तर्फबाट महिला सदस्यको रुपमा सहभागिता छ । उहाँ राजनीतिसंगै कपडा व्यवसायीका रुपमा चिनिनुहुन्छ । उहाँ थारु समुदायबाट प्रतिनिधत्व गर्ने एक्ली सदस्य पनि हुनहुन्छ ।

आफूलाई उपाध्यक्षमा चुनेको भन्दै तिमिल्सिनाले मतदातालाई धन्यबाद दिनुभयो । प्रमुख पदमा महिला जान होइन नसक्ने होइन, सक्छन् भन्दै अब थप प्रतिनिधित्व गराउने गरी आफूले काम गर्ने बताउनु भयो ।

‘हिजो यत्ति संख्या पनि थिएन, अहिले उपाध्यक्षसहित ४ जना छौँ भोलि संघमा ३३ प्रतिशत नै सहभागिता गराउने गरी काम गछौँ’ मायादेवीसंग उहाँले भन्नुभयो । सदस्यमा निर्वाचित भएका पाख्रेल, पौडेल र थारुले पनि अब महिलाले आफूमा नेतृत्व विकास गर्नु पर्ने भन्दै सबै लागेमा हरेक स्थानमा महिला अधिकार सुनिश्चित गर्न सकिने बताउनु भयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७ शनिबार ००:००  ७ : ४४ बजे