बुटवल ।
ऊर्जामन्त्री एवं ओली समूहका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट अपदस्त गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको बताएका छन्। पार्टी एकता र सरकार निर्माण भएको तीन वर्षसम्म प्रधानमन्त्रीविरूद्ध प्रचण्ड-नेपाल समूहले गरेका षडयन्त्रको आफू साक्षी रहेको उनले बताए।
प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री रायमाझीले आफ्नै कारणले प्रचण्ड(नेपाल समूह सडकमा गएको उल्लेख गर्दै गल्ती सच्याएर मूल धारमा समावेश नहुने हो भने उनीहरूले सडकमा पनि ठाउँ नपाउने बताए। ‘पार्टीका पहिलो र सर्वसम्मत अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट अपदस्त गर्न खोज्दा उनीहरू सडकमा पुगेका हुन्, हामीले यसबारे सचेत गराउँदा पनि नमान्दा यो अवस्था आएको हो,’उनले भने।
अहिले सञ्चार माध्यममार्फत् जनतामाझ भ्रम छर्ने दुस्साहस गरिएको भन्दै उनले गलत भ्रमलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएको र विकास र समृद्धिसहितको आर्थिक क्रान्ति सुरू भएको बेलामा पदीय लोभलालचमा नेताहरू लाग्नु उनीहरूकै लागि गलत भएको रायमाझीको भनाइ छ।
जनतामा गलत सन्देश प्रवाह गर्न सरकारका दुई जना मन्त्रीले ओली समूह छाड्दैछन् भनेर झूटो प्रचार गरेको भन्दै उनले विकास र समृद्धिको अभियान ओली नेतृत्वको पार्टी र सरकारले मात्रै अघि बढाउन सक्ने दाबी गरे। कार्यक्रममा बोल्दै प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद स्थापना गर्ने संविधानको मूल लक्ष्य भएकाले प्रचण्ड-नेपाल समूहले आरोप लगाएजस्तो प्रतिगमन नभएको बताए। ताजा जनादेश अग्रगामी कदम भएको उल्लेख गर्दै प्रचण्ड-नेपालकै कारण अहिलेको संकट निम्तिएको उनले बताए।
संगठनका संयोजक गणेश बस्नेतले विपक्षीले फैलाएका गलत हल्लालाई सञ्चारकर्मीहरूले चिर्नुपर्नेमा जोड दिए। संविधान बमोजिम चालिएको लोकतान्त्रिक कदमलाई लोकतन्त्रविरोधी र प्रतिगामी भन्नु भ्रममात्र रहेको भन्दै उनले आफ्नै पार्टीको सरकारलाई काम गर्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरू नै प्रतिगमनतर्फ अघि बढेको आरोप लगाए।
प्रतिक्रिया