९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संसद् विघटनविरुद्ध माइतीघरमा नागरिक खबरदारी



काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो।

विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायत नारा लेखिएको प्लाकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले संसद् विघटनको कदमको विरोध गरेका छन्। प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध सबै बुद्धिजिवीहरू एकै ठाउँमा आउनुपर्ने बताए। उनले सडक र सदन दुवैमा अराजकतावादी रहेका र तिनले लोकतन्त्रलाई नष्ट गर्न खोजेको बताए। उनले लोकतन्त्र र प्रजातन्त्रको रक्षाको लागि सम्पूर्ण लोकतन्त्रवादीहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।

नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा। गोविन्द केसीले जनताले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल मर्म स्वतन्त्रता र नागरिक अधिकार भए पनि सरकारले खोसेको बताए। उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको बताए। डा. केसीले प्रतिनिधिसभा विघटनको विरोध गर्नु प्रजातन्त्रवादीको परम कर्तव्य रहेको भन्दै सम्पूर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरू एकठाउँमा आउनुपर्ने बताए।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  २ : १९ बजे