मायादेवी अनलाइन, चारनम्बर ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले मेची महाकाली यात्रा गर्ने भएको छ । कपिलवस्तुमा भएका धार्मिक तथा पर्यटकीय स्थलको देशभर प्रचार गरी लाखौँ पर्यटक भित्र्याई जिल्लाको पर्यटन प्रवद्धन गर्न भन्दै संघले मेची महाकाली यात्रा गर्न लागेको हो ।
यस विषयमा जिल्ला समन्वय समितिसंग छलफल गरी १० पालिका प्रमुखसंग छलफल भई अभियान अगाडी बढेको अध्यक्ष गोपाल क्षेत्रीले मायादेवीलाई जानकारी दिनुभयो । कपिलवस्तुमा बुद्धले ३० बर्ष विताएको तिलौराकोट, जगदीशपुरताल, मधुवनधाम, कपिलधाम, कैलाश आश्रम लगायत दर्जनबढी पर्यटकीय स्थल छन् । विश्वमै शान्तिको सन्देश कपिलवस्तुबाट प्रवाहित भएको छ । उहाँका अनुसार सबैभन्दा पहिले कपिलवस्तुका धार्मिक र पर्यटकीय स्थल, यहाँको कला, संस्कृति र भेषभुषा आदिको परिचय हुने गरी सानो वृत्त चित्र बनाइने छ ।
त्यसको लागि तत्तत् स्थानमा पुगेर भिडियो छायांकन गर्न लागिएको पनि संघका उपाध्यक्ष रेशम ढकालले बताउनु भयो । मुलुकका पूर्वदेखि पश्चिममा भएका महत्वपूर्ण स्थानमा पुगी त्यहाँका सरोकारवालासंग छलफल गर्ने, अन्तरक्रिया गर्ने र कपिलवस्तुको परिचय समेटिएको वृत्त चित्र प्रदर्शन गरिने छ । यस्तै त्यहाँ फोटो प्रदर्शनी पनि गरिने छ । फोटोमा जिल्लाको परिचय हुने छ ।
यस वृत्तचित्रमार्फत् बिभिन्न जिल्लाले कपिलवस्तुलाई चिन्ने र यहाँ थुप्रै पर्यटक भित्रने संघले अपेक्षा गरेको छ । करिब १५ दिनसम्म मेची-महाकाली यात्रा गरी फर्किएपछि त्यसबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइने संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले मायादेवीसंग बताउनु भयो ।
कपिलवस्तुमा थुप्रै सम्भावना भए पनि लुकेको भन्दै यो अभियान चलाउनु परेको अध्यक्ष गोपाल क्षेत्रीले बताउनु भयो ।
अभियान १ महिनाभित्र सुरु हुने छ । यस्तो अभियान नेपालमै पहिलो भएको संघका सचिव शिवराज सापकोटाको दावी छ । जिल्लामा सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर यहाँको समृद्धि हुने संघले विश्वास लिएको छ ।
अर्कोतर्फ कपिलवस्तुमा पछिल्लो समय होटल तथा रिसोर्टमा करोडौँ लगानी भइरहको पनि छ । तर पनि पर्यटक तथा खानेबस्ने मानिसको अभावमा लगानी डुब्ने स्थिति हुँदा यस अभियानले उनीहरुलाई पनि माथि उकास्न टेवा दिने संघका सचिवालय सदस्य पर्शुराम रौतारले दावी गर्नुभएको छ ।
प्रतिक्रिया