९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बाणगंगामा फागुन २ गते हुने राष्ट्रिय महिला भलिवलमा आउँदैछन् यी खेलाडीहरु



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलमा फागनु २, ३ र ४ गते महिला भलिवलको राष्ट्रिय भीडन्त हुँदै छ । १ लाख धनरासीको राष्ट्रिय प्रतियोगिता (‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’) संस्थागत विद्यालयले गर्न लागेको लुम्बिनी प्रदेशमै यो पहिलो हो ।

यस खेलबारे चौतर्फी चासो रहेका बेला आयोजक हिलवर्टले खेलबारे प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ विद्यालयस्तरमा भलिबल खेलको विकास गर्ने उद्धेश्यले गर्न लागिएको प्रतियोगितामा कपिलवस्तु, रुपन्देही, दाङ, काठमाण्डौँ, पोखरा, बाग्लुङ लगायतबाट ८ टोलीले भाग लिन लागेको विद्यालयका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । खेल विद्यालयकै प्राङ्गणमा हुने छ ।

उहाँले प्रत्येक टोलीमा विभागिय र राष्ट्रिय चर्चित खेलाडीको सहभागिता हुने बताउनु भयो । खनालका अनुसार त्रिभुव आर्मीका टिम क्याप्टेन मनिसा खाँण र शान्ति चौधरी बुटवलको होराइजन स्कुलबाट, आर्मीकै संगम महतो, सृष्टि भोजु आयोजक हिलवर्टबाट, लुम्बिनी प्रदेशका कप्तान तथा एपिएफ खेलाडी पुजा चौधरी, सर्मिला नेपाली लगायतका राष्ट्रिय खेलाडी कुँवरवर्ति स्कुल तिलोत्तमाबाट सहभागि हुने छन् भने काठमाण्डौँको न्यू डायमण्ड क्लव, पोखराको शान्ता भलिवल क्लव, बुटवलका एभरेष्ट र दीप स्कुल लगायतले प्रतियोगितामा भाग लिने छन् । यस प्रतियोगिताले समग्र कपिलवस्तुलाई राष्ट्रिय रुपमा चिनाउन सफल हुने आयोजकले अपेक्षा गरेको छ । उद्घाटन समारोह भव्य हुने भएकाले खेल अवलोकन गरी मनोरंजन लिन पनि अध्यक्ष खनालले सबैलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय रेफ्री किसन चन्दले यो प्रतियोगिता कपिलवस्तुका विद्यालयमा भलिबल खेलको विकासमा कोशे ढुङ्गा सावित हुने बताउनु भयो । खेलको मैदान लगायत सबै पूर्वाधार उपयुक्त रहेकाले खेल हेर्न आउन सबैलाई उहाँको आग्रह छ । खेलको लागि अहिले भलिवल कोर्ट बनाउने, प्रचार-प्रसार लगायतका सबैकाम अन्तिम चरणमा पुगेको विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिनुभयो ।

फागुन २ गते विहान ९ बजे प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्ने प्रतियोगितामा बाणगंगा नगरपालिकाले पनि सहयोग गरेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा बाणगंगा नगरपालिकाले सहयोग गरेको छ भने मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क जितपुर शाखा रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताका प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा बिद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्रिन्सिपल कमल पौडेल, राष्ट्रिय रेफ्रीहरु रुद्र थापा, रोशन चन्द, बुद्धि बस्याल, राम बहादुर थापा, भरत थापा, आकाश बेल्बासे, सुजन थापा र १ दर्जन पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : २९ माघ २०७७ बिहिबार ००:००  ८ : ०९ बजे