९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

नेकपा फुटको गम्भिर धक्का कपिलवस्तु उद्योग बाणिज्य संघमा, के भएको थियो ?



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव हुने मिनेटसम्म पनि चर्चा हुँदै थियो, नेकपा कपिलवस्तु एक ढिक्का छ । अर्थात् कपिलवस्तु उद्योग बाणिज्य संघमा हुने निर्वाचनमा नेकपा समर्थित टोप नारायण बेलबासेलाई समर्थन गर्ने र जिताउने । तर त्यो प्रतिवद्धता नेताहरुको ओँठमा मात्र झुण्डिएको त्यतिबेला प्रमाणित भयो जति बेला अध्यक्ष टोपनारायण बेलबासेसहित अरु प्रमुख पदमा प्रगतिशिल प्यानल पराजित हुनु भयो । लामो रस्साकस्सी पछि भएको चुनावको नतिजा १७ घण्टापछि आउँदा नेकपाका नेताहरुले भनेजस्तो भएन ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आठौँ अध्यक्षमा टोपनारायण बेलबासे झिनो मत अन्तरले पराजित हुनुभयो । घिमिरे ५० मतले पछाडी पर्नुभयो । घिमिरेले ७६९ मत पाउँदा बेलबासेले ७१९ मत ल्याई पराजित हुनु भयो । नेकपाको पक्षमा अंक गणितमा करिब ३ चार सय बढी मत भएको आंकलन गरिएको अवस्थामा बेलबासेलाई घिमिरेले ५० मतको अन्तरमा पराजित गर्नुभएको छ । यसो हुनमा नेकपा भित्रको किचलो र फुट महत्वपूर्ण कारक मानिएको छ ।

पार्टी औपचारिक रुपमा विभाजन नभए पनि कपिलवस्तुका नेताहरु दुई कित्तामा थिए । यसरी कित्तामा बाँडिनेमा तिनै ब्यापारी व्यवसायी पनि छन् । आफ्ना पकड मानिएका इलाका चार नम्बर, बोडगाउँ, पिपरा, गजेहडा लगायतमा बेलबासेको पक्षमा भनेजस्तो मत आएन । अर्थात् नेकपा समर्थितले काँग्रेसको प्यानलमा भोट खसालेको नतिजाले देखाउँछ ।

चुनाव अघि राति नेकपाकै नेताहरुमै झगडा र हात हालाहाल पनि भएको थियो । तर यो घटनालाई लुकाइयो । यसले नेकपा एकिकृत छैन् भन्ने प्रष्टसंग देखिन्थ्यो तर बाहिर नराम्रो असर जान्छ भनेर नेताहरुले रातारात यो विषय थामथुम पारेका थिए । तर चुनावले त्यो हविगतलाई नाङ्गो बनाइदिएको छ ।

आपसमा लड्नेमा पूर्व माओवादी र एमाले मानिने ब्यक्ति थिए । यो पनि पनि बेलबासेको हारको कारण हो । प्रचण्ड माधव समुहका जिल्ला अध्यक्षको टुङ्गो लागेको खबर बाहिर आयो । त्यसअघि प्रचण्डमाधव तर्फ युवा र विद्यार्थी नेताका संयोजक पनि तोकिएका थिए । यसले पनि ब्यापारी मतदातालाई बाँडेको अनुमान गर्न सकिन्छ । यो काम पनि एक दुई दिनपछि गरेको भए बेलबासेले हार्ने थिएनन् कि भनेर विश्लेषण गर्न थालिएको छ ।

मायादेवीसंग कुरा गर्दै एक जना नेकपा समर्थित नेताले पार्टी फुटकै कारण बेलबासे पराजित भएको बताउनु भयो । यता नेपाली काँग्रेश भने एक ढिक्का भएर घिमिरेको पक्षमा देखिएको चुनावी नतिजाले देखाउँछ । घिमिरेले पकड मानिएको वैरियामा कब्जा नै जमाए पनि चार चम्बर र वैरिया अनि बोडगाउँ गजेहडामा पनि मत ल्याए । उसो त बेलबासे नेकपाको कुनै कित्तामा देखिएका थिएनन। ओली समुह या प्रचण्ड समुह कस्ले धोका दियो त्यो पछी समिक्षा गरिने एक नेताले बताए ।

यसो हुनुमा पार्टीमै भएको किचलो प्रमुख रहेको नेताहरुले बताएका छन् । हार भोगे पनि बेलबासेले आफूलाई मत दिने सबैलाई धन्यबाद दिएका छन् । पार्टीकै साथीहरुले मत बाहिर दिएपछि आफू झिनो अन्तरमा पराजित हुनु परेको उहाँले बताउनु भयो । अरु विपक्षी नेताहरुले पनि टोप नारायण राम्रो उम्मेदवार भइकन पनि हार्नुमा नेकपाको वर्तमान अवस्था कारक भएको बताएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७७ बुधबार ००:००  १० : ५० बजे