मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको ८ औँ नेतृत्वको लागि भएको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा भएको निर्वाचन अपरान्ह चार बजे सम्पन्न भएको थियो ।
प्रमुख निर्वाचन अधिकृत रविराज आचार्य आचार्यले आजको मतदान शान्तीपूर्ण तरिकाले सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरी सुरु भए पनि सकिदासम्म मतदाताको उत्साहपूर्वक सहभागिता थियो । जम्मा मतदाता संख्या १६ सय २५ रहेकोमा लगभग सबैको भोट खस्यो ।
यो विचमा कुनै विवाद तथा अशान्ति मच्चाउने गतिविधि नहुनुले राम्रो सन्देश दिएको उहाँले बताउनु भयो । ९५ प्रतिशत मत खस्नुले आफ्नो नेता छान्न मतदाता कति उत्साहित थिए भन्ने कुराको प्रमाणित भएको पनि उहाँले बताउनु भयो ।
संघका अध्यक्ष उमानाथ पौडेलले मतदान सम्पन्न भएसंगै आफ्नो तिन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको मायादेवीसंग बताउनु भयो । उहाँले भन्नुभयो ‘निर्वाचन कस्तो हुन्छ भन्ने मनमा कौतुहलता थियो ।
त्यो पनि सम्पन्न शान्तिपूर्ण नै भयो । यति भएपछि अब कार्यकाल सफल भएको मानेको छु । नतिजा आएपछि नेतृत्व हस्तान्तरण गर्ने छु ।’ अध्यक्षको दौडमा प्रगतिशिल प्यानलबाट टोप नारायण बेलबासेको प्यानल चुनावमा सहभागी भएको थियो भने प्रजातान्त्रिक तर्फबाट डोलकराम घिमिरेको प्यानल चुनावमा थियो । यी २ जनाबीच कसले बाजी मार्छ त्यो भने मध्यराति मात्र थाहा हुने छ ।
मतदानस्थलमा भएको भीँडभाड र तामझामले उद्योग बाणिज्य संघको निर्वाचनले स्थानीय तहको लागि भएको निर्वाचनको झल्को दिएको मतदानस्थलमा सहभागी सर्वसाधारण र मतदाताले प्रतिक्रिया दिएका छन् । वि सं २०७४ सालमा भएको मतदानमा भएजस्तै गतिविधि उद्योग संघको निर्वाचनमा पनि देखिएका थिए ।
अध्यक्ष लगायतका उम्मेदवारहरुले जताततै पोष्टर, पम्प्लेट र ब्यानर टाँगेका थिए । यसले ठ्याक्कै त्यही चुनावको झल्को दिएको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइले मायादेवीसंग बताउनु भयो ।
मतदाताहरु विहानैबट अपरान्ह ४ बजेसम्म घाँटीभरी मतदाताका फोटा तथा पोष्टर टाँसेर मत माग्न तल्लिन देखिन्थे, उहाँले भन्नुभयो ‘मत पेटिका, मत खसाल्ने ठाउँ, त्यहाँको सजावट, बाहिरको चहलपहल आदिले ७४ को चुनावको झल्को आयो ।’
ठाकुरापुर टोल विकास समितिका अध्यक्ष हरि पौडेलले भने यो तामझाम त्यति मन नपरेको बताउनु भयो । उद्योग संघको चुनावमा यस प्रकारको राजनीति र भएको चुनावले राम्रो भन्दा पनि नराम्रो सन्देश दिनुभयो । आफ्नो मन परेको उम्मेदवारलाई जिताउन समर्थकहरु गेटदेखि मतदानस्थलसम्म नमस्कार गरी बसेका देखिन्थे भने कतिले टाउकामा एकै रङको टोपी लगाएका थिए । यी गतिविधिले संघिय चुनावको नै झल्को आएको मोतिकला शर्माले बताउनु भयो ।
दुवै तर्फबाट कम्तिमा पनि २५ लाख बढी खर्च भएको हुनसक्ने अनुमान गरिएको छ । सुरुमा कम खर्च भए पनि आइतबार र सोमबार दुवै प्यानलबाट मनग्यै खर्च भएको चुनावी क्रियाकलापले देखाउँछ ।
प्रतिक्रिया