१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना



काठमाडौं ।
आज पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण पश्चिमका क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम आंशिकदेखि सामान्य बद्ली मात्रै हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ ।

काठमाण्डौसहित आसपासका जिल्लामा लागेको कुहिरो भने हट्दै गएर घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज चार डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ८ : ४८ बजे