१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव आज, आजै नतिजा आउने



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव आज हुँदै छ । १४ औँ बार्षिक साधारण सभा २३ गते नै सम्पन्न भए पनि चुनाव भने केही दिन पछि धकेलिएकोमा आज हुन लागेको हो । चुनावको लागि संघको कार्यालय अगाडी बुद्ध रंगशालाको चउरमा मतदान स्थल कायम गरिएको छ । विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदाताले मत खसाल्न पाउने गरी सबै तयारी पुरा भएको निर्बाचन समितिले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार आजै मतगणना भई नतिजा आउने बताउनु भयो । आज संघ मातहतका १६ सय २५ मतदाताले भोट खसाल्ने छन् । कुनै समस्या नआए ढिलोमा २ बजे मतदान सकिने र त्यस लगत्तै गन्ने काम पनि सुरु हुने भएकाले रातिसम्म संघले नयाँ नेतृत्व पाउने पनि उहाँले बताउनु भयो । चुनावको लागि सुरक्षा ब्यवस्था पनि कडा छ । विहानैदेखि मतदानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको पनि जनाइएको छ ।

संघको निर्वाचनबाट अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ३ (जसमा उद्योग, वाणिज्य र महिला १र१ जना), महासचिव १, कोषाध्यक्ष १, सचिव १, सह-कोषाध्यक्ष १, महिला सदस्य ३, (जसमा उद्योग, वाणिज्य र कृषि उद्यम १/१ जना) रहेका छन् भने विषयगत क्षेत्रबाट एशोसियटतर्फ उपाध्यक्ष १, सदस्य २ र बस्तुगततर्फ उपाध्यक्ष १, सदस्य संख्या ७ तथा क्षेत्रगत बजार सदस्यहरु निर्वाचित हुने छन् ।

संघको नेतृत्वको लागि डोलकराम घिमिरे र टोपनारायण बेल्वासे अध्यक्षमा लडेका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मी मगर र लक्ष्मण अधिकारी, उपाध्यक्ष उद्योग तर्फ तुल्सीराम घिमिरे र कृष्ण सापकोटा, उपाध्यक्ष वाणिज्य तर्फ कृष्ण प्रसाद गैरे र खुमानन्द घिमिरे, उपाध्यक्ष महिला तर्फ इन्दिरा तिमिल्सीना र शान्ति क्षेत्री चुनावी मैदानमा छन् । संघको उपाध्यक्ष एशोसियट तर्फ टोपनारायण भण्डारी र विरेन्द्र खाँण, उपाध्यक्ष वस्तुगत तर्फ शालिकराम भुसाल र बाबुराम पाण्डेको उम्मेदवारीे छ ।

त्यसैगरी महासचिव पदमा मनोज पौडेल र कुशल पौडेल, कोषाध्यक्ष पदमा विनोद कुमार पन्त र मनोहर कुमार योगी, सचिव पदमा शंकर प्रसाद न्यौपाने र खिमानन्द पौडेल (कपिल), रहेका छन् । चुनाव हुन अब केही समय मात्र रहँदा अध्यक्षका उम्मेदवारद्धय टोप नारायण बेलबासे र डोलकराम घिमिरे आफ्नो प्यानलले जित्ने दावी गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ६ : ३२ बजे