मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको चुनाव मंगलबार हुँदै छ । सातौँ अधिवेशनको लागि विहान ८ बजेदेखि २ बजेसम्मको लागि मतदानको समय तोकिएको छ । त्यसको पूर्वसन्ध्यामा अध्यक्षका उम्मेदवारद्धय टोप नारायण बेलबासे र डोलकराम घिमिरे आफ्नो प्यानल लिएर मतदाताको घरदैलोमा पुगिरहनु भएको छ । सहमतिको अन्तिम प्रयास असफल भएपछि चुनावमा होमिएका दुवैले अहिले भने जितको दावी गरेका छन् । यता मतदाता भने कसलाई जिताउने दोधारमा परेका छन् ।
यसैबीच नेकपाबाट अध्यक्षमा उठेका टोप नारायण बेलबासेले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । घरदैलोको क्रममा मायादेवी अनलाइनसंग छोटो प्रतिक्रिया दिँदै बेलबासेले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो–‘मतदाताले राम्रो कुरा गरिरहनु भएको छ । तपाई जत्तिको मान्छेले नजिते कसले जित्छ ? व्यवसायी सबै तपाईको पक्षमा छौँ भन्नुभएको छ । जहाँजहाँ पुग्छु त्यहाँत्यहाँँबाट यस्तै हौसला आइरहेको छ ।’ त्यसैले मैले चुनाव जित्नेमा द्धिविधा छैन । म चुनाव भारी मतान्तरले जित्छु ।’
उहाँले अंक गणितले पनि आफू बलियो भएको दावी प्रस्तुत गर्नुभयो । उहाँले थप्नुभयो ‘हिजो पनि हामी बलिया थियौँ । आज पनि छौँ । नेकपाभित्र सबैको एक मत छ । केही काँग्रेस साथीहरुले पनि सघाउँछौँ भन्नुभएको छ । यस हिसाबले महासचिव र वरिष्ठ उपाध्यक्षसहित प्यानलकै जित हुने छ ।’
अध्यक्षका प्रत्यासी बेलबासेले प्रत्येक मतदाताको घरघरमा पुगिसकेको पनि बताउनु भयो । अब केही मतदाताको घरमा पुगेपछि दौड सकिने पनि बताउनु भयो । वरिष्ठ उपाध्यक्षका उम्मेदवार छवि रेश्मी र महासचिव कुशल पौडेलले पनि वातावरण राम्रो भएको बताउनु भयो । ‘अब मुलुकको विकास युवाले गर्नु पर्दछ । हामी जे भन्छौँ त्यो गर्दछौँ । हामीले संघमा तातो–रातो रगत बोकेका सबै युवाको प्रतिनिधित्व गर्दछौँ । ’ उहाँहरुले भन्नुभयो । दुवैले भारी मतान्तरले चुनाव आफ्नो पक्षमा पार्ने दावी गरेका छन् ।
यता लोकतान्त्रिक प्यानलबाट पनि आफूहरुको जित सुनिश्चित भइसकेको उम्मेदवारहरुले बताएका छन् । चुनावी दौरानको क्रममा घरदैलेमा रहेको बेला अध्यक्षका प्रत्यासी डोलकराम घिमिरेले मायादेवीसंग छोटो कुराकानी गर्दै ढुक्कसंग आफूहरुले जित्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘उम्मेदवारहरुको फोटोले नै बताउँछ कि कसले जित्छ कसले हार्छ । तपाई आफै विश्लेषण गर्नुहोस् । हामी प्यानल नै ल्याएर देखाइदिन्छौँ । त्यो आधार तय भइसकेको छ ।’
चुनावको अन्तिम प्रचारप्रसारमा रहेको बताउँदै उहाँले अहिले ब्यापारी व्यवसायीले काम गर्ने सजिलो मानिस खोजेको पनि बताउनु भयो । घिमिरेले उम्मेदवार चिनेर भोट खसाल्न पनि मतदातालाई आग्रह गर्नु भएको छ । घिमिरे प्यानलकै वरिष्ठ उपाध्यक्षका उम्मेदवार लक्ष्मण अधिकारी र महासचिवका प्रत्यासी मनोज पौडेलले पनि आफूहरुले जित्नेमा कुनै द्धिविधा नरेहेको बताउँदै त्यति दौडन नपरेकोको मायादेवीसंग बताउनु भयो ।
बेलबासे र घिमिरे प्यानलले आफ्नो जित दावी गरिरहँदा मतदातालाई भने कसलाई जिताउनेमा सकस हुने देखिएको छ । ब्यापारी र ब्यवसायीको मनोविज्ञान बुझ्दा दुवैमा प्यानलको जित नहुने देखिन्छ । अध्यक्षमा जसले जिते पनि अरु पदमा भने मिश्रित नतिजा आउने एक जना मत खसाल्ने ब्यापारीले मायादेवीसंग बताए ।
नाम नबताउने सर्तमा वडा नम्बर ८ बोडगाउँका एक जना मतदाताले काँग्रेस–नेकपा भनेर भोट नहालिने बताए । उनले भने ‘यदि यसलाई भोट हाल र उसलाई भोट हाल भनेर पार्टीले भने पनि मानिन्न । संघलाई डोहोर्याएर लैजाने लिडर हामीलाई चाहिएको छ । जसले उमानाथ जिको काम गर्ने स्पिड समात्छ जस्तो लाग्छ उसैलाई जिताइन्छ ।’
केही ब्यवसायी तथा मतदाताले यो चुनावमा नेता छान्न सकस भएको बताउँछन् । मायादेवीसंग उनले भने ‘अहिले चुनावबाट नेता छान्न निकै गारो छ । सकेसम्म सहमति गरेको भए राम्रो हुन्थ्यो । फसाद मतदातालाई पर्यो । कसलाई जिताउने कसलाई हराउने, हामीलाई निकै द्धिविधा छ ।’ बेलबासे र घिमिरे दुवै राम्रा उम्मेदवार हुन् । संघलाई चाहिने मानिस हुन । मतदाताले अब कसलाई छान्ने ?’ उनले थपे ।
‘ब्यवसायीको हकहितको लागि बेलबासेको भूमिका कम छैन । उहाँसंग सबै अनुभव छ । लिडर पनि हुनहुन्छ । घिमिरे पनि सामाजिक हिसाबमा राम्रो मानिनु हुन्छ । खै कसलाई भोट दिने निकै अप्ठ्यारो छ ।’ चारनम्बरका केही ब्यवसायीले मायादेवीसंग बताए ।
प्रतिक्रिया