१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ओली निकट आयुक्त भण्डारीलाई नेकपा विवाद हेर्ने जिम्मा



काठमाडौँ ।
विभिन्न अड्कलबाजीका बीच निर्वाचन आयोगका नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले सत्तारुढ नेपाल कम्युनष्ट पार्टी (नेकपा) को प्रारम्भिक विवाद हेर्ने जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ २१ गते मात्रै भण्डारीलाई आयोगको आयुक्तमा नियुक्त गरेका थिए। हालै बसेको आयोगको बैठकले भण्डारीलाई नेकपाको प्रारम्भिक विवाद हेर्ने जिम्मेवारी दिएको आयोग स्रोतले दाबी गरेको छ।

बरिष्ठ अधिवक्ता समेत रहेकाले उनलाई नेकपाको प्रारम्भिक विवाद हेर्ने जिम्मेवारी दिइएको स्रोतको भनाइ छ। नेकपाको आन्दोलनरत एक पक्षले उनीसँगै अन्य संवैधानिक आयोगमा भएको नियुक्तिहरुलाई अवैधानिक भन्दै यसलाई नमान्ने अडान लिएको छ।

आन्दोलनरत पक्षले आफनो आधिकारिकताका लागि दाबी गर्दै १९ पृष्ठ लामो पत्र आयोगलाई बुझाइसकेको छ। यस्तो अवस्थामा ओली निकट आयुक्तले विवाद निरुपणको जिम्मा लिनुले आयोगको निर्णय प्रभावित हुन सक्ने आशंका बढेको छ।

तर स्रोतका अनुसार नेकपाको विवादको अन्तिम निर्णय भने आयोगले समूहिक बैठकबाट गर्नेछ।

प्रकाशित मिति : २६ माघ २०७७ सोमबार ००:००  ७ : १६ बजे