एजेन्सी ।
बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो टेस्टमा अविश्वसनीय रूपमा तीन विकेटको विजय हासिल गरेको छ ।
चट्टोग्राममा आइतवार पाँचौं दिनको खेलमा वेस्ट इन्डिजले ३९५ रनको विशाल लक्ष्य सात विकेट गुमाएर प्राप्त गरेको हो । वेस्ट इन्डिजको जीतमा काइल मायर्स नायक रहे । उनले चौथो इनिङमा अविजित २१० रन बनाएर आफ्नो टोलीलाई जीत दिलाएका हुन् ।
टेस्ट डेब्यूमा २०० रन बनाउने उनी क्रिकेट इतिहासकै छैटौं खेलाडी हुन् । अनि चौथो इनिङमा दोहोरो शतक ठोक्ने पनि उनी छैटौं खेलाडी बनेका छन् ।
सर्वाधिक धेरै लक्ष्य पछ्याउँदै जीत हासिल गर्नेमा वेस्ट इन्डिजको आजको जीत पाँचौं स्थानमा रहेको छ । पहिलो स्थानमा पनि वेस्ट इन्डिज नै रहेको छ ।
यस टेस्टमा टस जितेर बंगलादेशले पहिलो इनिङमा मेहदी हसनको शतकको सहायताले ४३० रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिजले जम्मा २९५ रन बनाउन सकेको थियो ।
दोस्रो इनिङमा भने बंगलादेशका मोमिनुलले ११५ र लिटोन दासले ६९ रन बनाउनुबाहेक अन्य सबै ब्याट्स्म्यान फेल भए । टीमले जम्मा २२३ रन बनाउन सक्यो ।
तैपनि बंगलादेशले ३९५ रनको विशाल लक्ष्य तेर्स्याएको थियो । यस्तो अवस्थामा कायल मायर्सले दोहोरो शतक बनाएर टीमलाई विजयी बनाए । उनलाई न्क्रुमा बोनरले ८६ रन बनाएर साथ दिएका थिए । मायर्सले पहिलो इनिङमा ४० रन बनाएका थिए ।
बंगलादेश र वेस्ट इन्डिजबीच दोस्रो टेस्ट बिहीवारबाट शुरू हुँदैछ ।
प्रतिक्रिया