बैतडी ।
बैतडीकी १७ वर्षकी भागरथी भट्टको हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले गहिराइमा पुगेर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले हत्याको विभिन्न कोणबाट अनुसन्धान थालिएकाले अहिले नै अनुसन्धानको विषयमा जानकारी खुलाउन नमिल्ने बताउनुभयो ।
उहाँले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन पनि आग्रह गर्नु भएको छ । ‘हामी अनुसन्धानको गहिराइमा पुग्छौँ, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गरिरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा छानबिन भइरहेको छु उहाँले भन्नुभयो ।प्रहरीले भागरथीको हत्या परिचित व्यक्तिले नै गरेको हुन सक्ने आशङ्का गरेको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै यसबारे थप जानकारी केही दिएको छैन । भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ भने नजिकका आफन्त र साथीभाइसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।
बैतडीको दोगडा केदार गाउँपालिका ७ की भागरथीको गएको बिहीवार शव भेटिएको थियो । बुधवार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्ने क्रममा भोलिपल्ट जंगलमा शव भेटिएको थियो । उहाँको बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम र घाउ भएको अवस्थामा भागरथीको शव भेटिएको थियो । भागरथीका आफन्त तथा परिवारले न्यायको लागि गुहार मागेका छन् । भागरथीका बुबाको दुई महिनाअघि निधन भएकाले परिवारमा थप पीडा परेको छ । भागरथीको हत्यापछि गाउँ नै अहिले शोकमा डुबेको छ ।
बलात्कार र हत्याको विरोधमा आवाज उठ्दै आए पनि यस्ता घटना रोकिएका छैनन् । अझै कतिपय घटनामा त पीडितले न्याय नै पाउन सकेका छैनन् । यस अघि २०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, लामो समयदेखि यो घटनाको अनुसन्धान चले पनि दोषी पत्ता लागेको छैन । यसले प्रहरी प्रशासनमाथि प्रश्न समेत उठेको छ ।
प्रतिक्रिया