१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

संघको ३५ पदमा ६३ उम्मेदवारको मनोनयन दर्ता, मनोनयन दर्तामा को कसको समर्थन ?



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघ सातौं अधिवेशनको निवार्चनको कार्यक्रम सार्वजनिक भएसंगै शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको मंगलबार हुने निर्वाचनमा शनिबार उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार खुल्ला पदाधिकारी तथा सदस्यहरुको लागि अन्तिम समय शनिबार ५ बजेसम्म ३५ पदमा ६३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । निजी क्षेत्रको सर्वोच्च संस्था कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्ष पदमा राजनीतिक दलको चासो र प्रतिष्ठाको विषय बनेको छ ।

संघको निर्वाचित हुने पदहरुमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ३ (जसमा उद्योग, वाणिज्य र महिला १/१ जना), महासचिव १, कोषाध्यक्ष १, सचिव १, सहकोषाध्यक्ष १, महिला सदस्य ३, (जसमा उद्योग, वाणिज्य र कृषि उद्यम १।१ जना) रहेका छन् भने विषयगत क्षेत्रबाट एशोसियटतर्फ उपाध्यक्ष १, सदस्य २ र बस्तुगततर्फ उपाध्यक्ष १, सदस्य संख्या ७ तथा क्षेत्रगत बजार सदस्यहरु रहेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै संघको अध्यक्ष पदमा डोलकराम घिमिरे र टोपनारायण बेल्वासेले मनोनयन दर्ता गराएका छन् । संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलको समर्थन र पुर्व अध्यक्ष देवीप्रसाद पाण्डेको प्रस्तावकमा टोपनारायण बेल्वासेले अध्यक्ष पदमा मनोनयन दर्ता गर्नुभएको निर्वाचन समितिले जनाएको छ । संघका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद पोखरेल र सल्लाहकार दुनिका भुसाल प्रस्तावक समर्थनमा डोलकराम घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मी मगर र लक्ष्मण अधिकारी, उपाध्यक्ष उद्योग तर्फ तुल्सीराम घिमिरे र कृष्ण सापकोटा, उपाध्यक्ष वाणिज्य तर्फ कृष्ण प्रसाद गैरे र खुमानन्द घिमिरे त्यस्तै उपाध्यक्ष महिला तर्फ इन्दिरा तिमिल्सीना र शान्ति क्षेत्रीको उम्मेदवारी परेको छ ।

संघको उपाध्यक्ष एशोसियट तर्फ टोपनारायण भण्डारी र विरेन्द्र खाँण, उपाध्यक्ष वस्तुगत तर्फ शालिकराम भुसाल र बाबुराम पाण्डेको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

त्यसैगरी महासचिव पदमा मनोज पौडेल र कुशल पौडेल, कोषाध्यक्ष पदमा विनोद कुमार पन्त र मनोहर कुमार योगी, सचिव पदमा शंकर प्रसाद न्यौपाने र खिमानन्द पौडेल (कपिल), सह–कोषाध्यक्ष यम बहादुर केसी र सिराज अहमद रहेका छन् भने महिला सदस्य, वस्तुगत सदस्य, एशोसियट सदस्य तर्फका सदस्यहरुमा पनि मनोनयन दर्ता भएको छ । त्यस्तै क्षेत्रगत सदस्यहरुमा पिपरा, बैरिया, चारनम्बर, गजेहडा, ओदारी, कोपवा, वोडगाउँ, बनगाई, भलवाड र पटना क्षेत्रबाट पनि सदस्य पदका लागि मनोनयन दर्ता भएको छ ।

ओदारी बजार क्षेत्रको सदस्यमा १ जनाको मात्र मनोनयन दर्ता भएपछि बसन्त कडेल सर्वसम्मत सदस्यमा निर्वाचित हुने भएका छन् । भोली आइतबार उम्मेदवार उपर दावी विरोध, छानविन र उम्मेदवारी फिर्ता गर्ने समय सिमा तोकिएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिनुभयो ।

संघको आगामी नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानलबाट डोलकराम घिमिरे र नेकपा निकट प्रगतिशिल प्यानलबाट टोपनारायण वेल्वासेको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २४ माघ २०७७ शनिबार ००:००  ९ : ५० बजे