१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा २ हजार २१६ जनाले कोरोना खोप लगाए



विक्रम विश्वकर्मा, तौलिहवा ।
कपिलवस्तुमा कोरोना बिरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन् ।

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्यमसेविका सफाईकर्मी, एम्बुलेन्स चालक, कारागारका कैदीबन्दी र सुरक्षाकर्मीले पहिलो चरणमा खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयद्धारा कोरोनाको पहिलो चरणको प्रगति बिवरणका बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले सो जानकारी गराएका हुन् ।

जिल्लालाई कोभिशिल्ड नामक कोरोनाको खोप ४५ सय भाईल प्राप्त भएको थियो । खोपका लागि २ हजार ४३ जनाको लक्ष्य तोकिएको थियो ।

महिला स्वयमसेविका ६ सय ४७ जना, स्वाथ्यकर्मी ६ सय ९७ जना, सरसफाईकर्मी ९९, स्वास्थ्य संस्थाका अन्य कर्मचारी ९९, शव ब्यवस्थापन सुरक्षाकर्मी ७९, कपिलवस्तु कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी ४ सय ४२ जनालाई खोप लगाइएको छ ।

पहिलो चरणमा ३ वटा खोप केन्द्र र ९ वटा स्टेलाई केन्द्र खडा गरिएको थियो । प्रजिअ दीर्घ नारायण पौडेलको संयोजकत्वमा रहेको कोरोना समन्वय तथा अनुमगन समितिले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरफाईकर्मी सुरक्षाकर्मीलाई खोप दिने निर्णय गरेको थियो । कपिलवस्तु अस्पतालका मेसु डा.किशोर बन्जाडेले कोरोना खोपको पहिलो चरणको अभियानमा कपिलवस्तु नेपाल कै तेश्रो स्थान हासिल गरेको बताए ।

सो अवसरमा कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले खोप लगाएको मध्ये कसैलाई पनि ठुलो असर नपरेको बताए । उनले सामान्य रिगटा र ज्वरो आउने र थकान महसुस हुने बाहेक अन्य केही नभएको उनले बताए ।

पहिलो चरणमा खोप लगाएकाहरुलाई नै दिइएको खोप कार्डका आधारमा २८ दिन पछि फेरी खोप लगाईने छ । प्रजिअ दीर्घ नारायण पौडेलले कपिलवस्तुमा पहिलो चरणको खोप अभियान सफलतापूर्वक संपन्न भएको बताए । उनले अभियानमा सबैले राम्रो साथ दिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले कोरोना खोपमा कपिलवस्तुले राम्रो स्थान हासिल गरेको बताए । जिल्लामा खोपको अवस्था कमजोर भएको भन्दै आगामी बैशाख भित्र खोपको पहुँच र उपभोगलाई बढाई जिल्लालाईै पूर्ण खोपयुक्त घोषणा गर्न अभियान चलाइएको बताए । कार्यक्रम प्रअिज पौडेलको अध्यक्षता र उमेश घिमिरेको संचालनमा भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७ शनिबार ००:००  ७ : ४७ बजे