दीपा महत, वाणगंगा ।
प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु पन्थीले कपिलवस्तुमा ढुक्क भएर लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गर्नुभएको छ । विभिन्न पुरातात्विक सम्पदाले धनी, पर्याप्त जग्गा जमिन भएको, महेन्द्र राजमार्गसंग जोडिएको, शान्ति सुरक्षा र भारतीय सीमानाका नजिकै रहेकाले पनि यहाँ लगानीको पर्याप्त वातावरण रहेको उहाँले बताउनुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघको चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनलाई सम्बोधन गर्दै सांसद पन्थीले कपिलवस्तुलाई लगानी केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रको विकास विना देश धनि हुन नसक्ने भन्दै त्यस्को लागि अब तिनै तहका सरकार मिलेर निजी क्षेत्रको विकासका लागि लाग्नुपर्ने बताउनुभयो । नेपाललाई बाहिरि सामानको बजार मात्र बनाउन नहुने सांसद पन्थीको तर्क छ ।
उहाँले भन्नुभयो, ‘अब स्वदेशी सामानको विक्रि वितरण तर्फ ध्यान दिनु पर्छ, हामीले स्वदेशी उत्पादन किन्ने र बेच्ने गर्नुपर्छ यसले ब्यापारीलाई कम नाफा त होला तर यसले स्वदेशी उत्पादनको प्रर्बद्धनमा टेवा पुर्याउछ ।’
सांसद पन्थीले पुजीँगत रुपमा खर्च गरेर पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । कपिलवस्तुमा राम्रो औद्योगिक क्षेत्रको अभाव रहेको भन्दै अब यहाँ औद्योगिक क्षेत्रहरु खोल्नुपर्ने बताउनुभयो । साथै पन्थीले उद्योग वाणिज्य संघको आगामी नेतृत्व वाणिज्य संघलाई थप उचाइमा पुरयाउने हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया