१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु नेपालमै सबैभन्दा बढी सम्भावना बोकेको जिल्लाः अध्यक्ष गोल्छा



दीपा महत, वाणगंगा ।

कपिलवस्तु नेपालमै सबैभन्दा बढी सम्भावना बोकेको जिल्ला रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताउनुभएको छ ।

कपिलवस्तु देशमै धेरै सम्भावना बोकेको जिल्ला रहेको भन्दै त्यसका विभिन्न आधारहरु प्रस्तुत गर्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघको चौधौ साधारण सभा तथा सातौं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त कुरा बताउनुभएको हो । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि कपिलवस्तुको मुहार नै फेरिने उहाँको भनाई छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि दैनिक वैदेशिक रोजगारमा जाने युवाहरुको आवतजावत रहने र यसले यहाँ धेरै होटलहरु संचालनमा आउने बताउनुभयो । साथै आइसीपिले भारतसंग जोड्ने हुँदा यहाँको विकासमा सघाउ पुग्ने बताउनुभयो ।

अध्यक्ष गोल्छाले साना र मझौला ब्यवसायीको सबै भन्दा ठूलो समस्या कर्जा प्राप्ती रहेको भन्दै उनिहरुले सहज तथा सरल रुपमा ऋण प्राप्त गर्न नसकेको बताउनुभयो । यस समस्या समाधानका लागि आफुले २ दिन अघि मात्र बैंकर्स एसोसिएसनका अध्यक्षसंग सहज ऋण प्राप्तीका लागि छलफल समेत गरेको बताउनुभयो । ठुला ब्यवसायीले मात्र देशमा समृद्धि ल्याउन नसक्ने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो ‘जब सम्म साना र मझौला ब्यवसायीले ऋण प्राप्त गर्न सक्दैनन् तब सम्म देशमा समृद्धि आउँछ भनेर कल्पना नगरे हुन्छ ।’ यसैगरी ब्यवसायीले कर्जा तिर्न नसकेको गुनासो आएको भन्दै त्यसको समाधानका लागि महासंघले पहल गरेको जानकारी दिनुभयो । साथै उहाँले न्यायिक निष्कर्ष ननिस्कदासम्म कसैको मानमर्दन हुने गरी अनुगमन गर्न नहुनेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७७ शुक्रबार ००:००  ८ : १५ बजे