१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सकियो कपिलवस्तु उद्योग वाणिज्य संघको चौधौ साधारण सभा, अब चुनावी प्रक्रिया



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तु उद्योग वाणिज्य संघको चौधौ साधारण सभा तथा सातौं अधिवेशन शुक्रबार भएको छ । संघको सभाहल प्राङ्गणमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष उमानाथ पौडेलले संस्थाले गरेका कार्य तथा अहिलेसम्मका उपलब्धि, महा–सचिव लक्ष्मण अधिकारीले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मोहन न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा बोल्ने अधिकांश वक्ताले उद्योग वाणिज्य संघको अहिलेसम्मको नेतृत्व सफल रहेको भन्दै अबको नेतृत्व पनि यस्तै हुनुपर्नेमा जोड दिएका छन् । साथै अबको नेतृत्व पनि सर्वसहमति मै हुनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उद्योग वाणिज्य संघले छोटो समयमै संस्थागत विकास गरेको भन्दै यस क्षेत्रका व्यवसायीका हक अधिकार सुनिश्चित गरिरहेको बताउनुभयो । मेयर थारुले यस क्षेत्रका व्यवसायी र उद्योग वाणिज्य संग सदैव समन्वय गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनुभयो ।

उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले उद्योग वाणिज्य संघ कपिलवस्तु आफुलाई अग्रहणी रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो । नयाँ नेतृत्वलाई थप उदाहरणीय बन्न पनि शुभकामना दिदै चुनावमा जानुभन्दा पनि सर्वसहमति गर्नुपर्नेमा उहाँको जोड छ । आफुको नेतृत्वमा कुनै पनि विवाद नआएको भन्दै संघलाई विभिन्न रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, कांग्रेस नेता रबि बहादुर काफ्ले, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेँल, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, महिला नेतृ बिमला गैरे, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगाएतले बोल्दै उद्योग वाणिज्य संघलाई थप उचाइमा पुर्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रम उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यता, प्रदेश सांसद विष्णु पन्थीको विभिष्ट आतिथ्यता वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालको स्वागत मन्तब्य र महासचिव लक्ष्मण अधिकारीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २३ माघ २०७७ शुक्रबार ००:००  ८ : १२ बजे