११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

भव्य समारोहका बीच शिवराजमा खेल महोत्सवको शुभारम्भ



मायादेवी अनलाइन, चन्द्रौटा ।
एक भव्य समारोहका बीच कपिलवस्तुको शिवराज नगरपालिकामा विहीबारदेखि खेल महोत्सवको शुभारम्भ गरिएको छ ।

हरेक बर्ष खेल महोत्सव शुभारम्भ गर्दै आएको नगरपालिकाले यो बर्ष पनि कार्यक्रम राखेको हो । माघ ३० गतेसम्म हुने खेल महोत्सवमा ३९ प्रकारका खेल खेलाइनेछ भने नगरका विभिन्न विद्यालयका गरी ११२५ जना खेलाडी प्रत्यक्ष सहभागी हुने छन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३४ र मेयर उपमेयर कप तर्फ ५ प्रकारका खेलहरु आयोजना हुने नगरपालिकाले जनाएको छ ।

‘शिवराज खेलमा शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पूर्वधार, स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने’ मूल नारा तय गरिएको छ । खेलको उद्घाटन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले खेलाडीले राष्ट्रको नाम राख्न सक्ने भएकोले नगरपालिकाले खेललाई प्राथमिकता दिएको बताउनुभयो ।

विगतका वर्षहरुमा पनि खेल आयोजना भएको बताउँदै थप व्यवस्थित सहित यो वर्ष एक हप्तासम्म खेल महोत्सव आयोजना गरिएको नगर प्रमुख अधिकारीले बताउँनुभयो । खेलकुद प्रतियोगिताले युवायुवतीहरुलाई दुव्र्यसनीबाट हटाउन सहयोग पुग्ने विश्वास उहाँले विश्वास व्यक्त गर्नुृभयो । नगर प्रमुख अधिकारीले धेरै खेलहरु रहेकोले नियममा रहेर खेल खेल्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिका तयार रहेको बताउँदै नगरका खेलाडीलाई प्रदेशस्तरका खेलहरुमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराते लगायतका प्रतिस्पर्धा विद्यालय स्तरिय रहने शिवराज नगर खेलकुद विकास समितिका संयोजक नेत्र बेल्वासेले बताउनु भयो ।

यस्तै मेयर कप प्रतियोगिता तर्फ फुटबल, भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ भने उप मेयर कप तर्फ, महिला फुटबल, र महिला कराते प्रतिस्पर्धा रहने समितिका संयोजक बेल्वासेले बताउनु भयो । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा १५ विद्यालयको सहभागीता रहनेछ भने मेयर उपमेयर कप तर्फ फुटबलमा १३ र क्रिकेटमा ७ टिम दर्ता भएको बेल्बासेले बताउनुभयो ।

प्रकाशित मिति : २३ माघ २०७७ शुक्रबार ००:००  ६ : ०७ बजे