काठमाडौं ।
महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गर्न लागेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गर्न लागेका हुन्। प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि हुन लागेको आमसभालाई लक्षित गरी मार्चपास गर्न लागिएको बस्नेतले बताए। उनका अनुसार मार्चपास वाल्मिकी कलेजबाट सुरू भएर प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुग्ने छ।
काठमाडौंका ८ र भक्तपुरका २ ठाउँबाट मोटरसाइकलमा स्यमंसेवक आउने बस्नेतले बताए। मार्चपासपछि वाल्मिकी कलेजमै आएर ती स्वयंसेवकलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको बस्नेतले बताए। प्रशिक्षणमा मन्त्री ईश्वर पोखरेल र बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेल आउने उनले बताए।
‘हाम्रो यो पूर्वनिर्धारित कार्यक्रम हो, आज प्रचण्ड-माधव समूहको आमहड्ताल छ, हामीलाई यो आमहड्तालसँग कुनै सरोकार छैन,’ बस्नेतले भने, ‘कोही पनि टसलमा नआए हुन्छ।’ प्रशिक्षणपछि ती स्वयंसेवक भोलि नारायणहिटी संग्रहालय अगाडि हुने आमसभामा खटिने छन्।
‘तीन लाख जनशक्ति उतार्ने हाम्रो लक्ष्य छ, आमहड्ताल फिर्ता लिन र टसलमा नआउन प्रचण्ड-माधव समूहलाई अनुरोध गर्छौं। फिर्ता लिएनन् भने पनि सुरक्षा निकायसँग समन्वय गर्दै आमसभा सफल पार्छौं।’
यो मार्चपासलाई लक्षित गरी प्रहरीले त्यहाँ आवश्यक सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले दुबै पक्षलाई आपसमा भिडन्तको स्थितिमा जान नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए।
प्रतिक्रिया