काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड(नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित पत्र बुझाएको छ ।
प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत नेतासहित आफूहरुले आयोग पुगेर आधिकारिकता दाबी गरेको नेकपाका नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो । हिजो बसेको प्रचण्ड(नेपाल समूहको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्न आयोग जाने निर्णय गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गरिएको नेता पोखरेलले उज्यालोलाई बताउनुभयो । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको दाबी गर्दै प्रचण्ड(नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने बताउँदै आएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो । त्यसलगत्तै नेकपा औपचारिक रुपमै दुई समूहमा विभाजित भएर गतिविधि अघि बढाएका छन् । यसअघि आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै समूहले गरेका निर्णयलाई अस्वीकार गरेको थियो ।
प्रतिक्रिया