चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
कपिलवस्तु उद्योग बाणिज्य संघको चौधौँ साधारण सभा तथा सातौँ अधिवेशनको मिति (माघ २३ र २४) गते नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको छ । ३ बर्षे कार्यकालको लागि हुने नेतृत्वको लागि नेपाल कम्युनिष्ट पार्टीबाट टोपनारायण बेलबासे र नेपाली काँग्रेसका तर्फबाट डोलकराम घिमिरेको नाम सार्वजनिक भइसकेको छ ।
सोही अनुसार दुवै टोली अहिले ब्यवसायीलाई आफ्नो पक्षमा पार्ने दौडधूपमा छन् भने आन्तरिक रुपमा प्यानल पनि तयार भएको छ । प्यानल घोषणा गर्दा सर्वसम्मतिको प्रयास विग्रन सक्ने डरले दुवैले प्यानलको नाम अहिलेसम्म गोप्य राखेका छन् ।
मिडियामा आफ्नो जित दावी गर्दै बेलबासे र घिमिरेले चुनाव नै हुने संकेत गरिसकेका छन् । सर्वसम्मतको प्रयास भइरहे पनि दुवै अध्यक्षको दौडबाट हट्ने सम्भावना छैन । मायादेवी मिडियामा बोल्दै बेलबासे र घिमिरेले आआफ्नो जित दाबी गर्दै आइरहेका छन् ।
नेकपाका अध्यक्षका प्रत्यासी बेलबासे घिमिरेभन्दा ठुलो घरानाका ब्यवसायी हुन् । उनी अहिले संघको सल्लाहाकारमा छन् । साना ब्यावसायीसंग कम परिचित भएकोले उनको ध्यान अहिले साना ब्यवसायीलाई कसरी आफूतिर तान्न सकिन्छ भन्नेमा छ । १६ सय २५ मत रहेको संघमा आफू बलियो भएको भन्दै अध्यक्ष नपाए सहमति गर्न नसकिने बेलबासेको अहिलेसम्मको अडान छ ।
यता घिमिरे बेलबासेभन्दा जनस्तरमा बढी लोकप्रिय मानिन्छन् । उनी अहिले संघको सदस्य छन् । उनी ब्यवसायिक हिसाबले साना उद्योगी र ब्यापारीको नजरमा प्यारा मानिन्छन् । त्यसैले ठुला ब्यवसायीको बढी समर्थन जुटाउन सके चुनाव आफ्नो पक्षमा पार्ने गरी घिमिरे लागेको देखिन्छ । यसरी हेर्दा दुवैको अवस्था संघमा बराबारजस्तो देखिन्छ । यो समाचार तयार पार्दासम्म दुवैले अध्यक्ष त्याग गर्न सक्ने स्थिति नभएकाले चुनाव हुने निश्चितजस्तो देखिन्छ ।
पार्टीबाट पनि दुवैमाथि अध्यक्ष छाड्न नहुने दबाब छ । आफ्ना मतदाताको संख्या बढी रहेको भन्दै बेलबासेलाई कुनै पनि हालतमा अध्यक्षबाट पछि नहटाउने स्थितिमा नेकपा रहेको श्रोत बताउँछ । यता काँग्रेसले भने रोल क्रमअनुसार अबको नेतृत्व आफूहरुले पाउनु पर्ने दावी गर्दै आएको छ ।
यसअघि पनि तत्कालिन एमालेबाट उमानाथ पौडेललाई सर्वसम्मत अध्यक्ष गराइएको भन्दै अहिले पालो आफूहरुको रहेकाले घिमिरेले अध्यक्षबाट कुनै हालतमा पछि नहटाउने काँग्रेसको अडान छ । नेकपामा आएको किचलोको फाइदा पनि आफूहरुलाई हुने ठानेर चुनाव हुने स्थिति आए सामना गर्न काँग्रेस तयार रहेको एक नेताले बताए । यता बेलबासेले भने नेकपाको वर्तमान राजनीतिले मतदातामाथि कुनै प्रभाव नपार्ने भन्दै चुनावको सामना गर्न तयार रहेको मायादेवीलाई बताउनु भयो ।
तर ब्यापारी ब्यावसायीले भने अध्यक्षका प्रत्यासी दुवै जना संघमा आवश्यक रहेको भन्दै चुनाव नगराई सर्वसम्मतिमा नेतृत्व छान्नु पर्ने बताउँछन् । त्यसैको लागि अहिले दैनिक जसो छुट्टाछुट्टै तथा संयुक्त भेला र छलफल भइरहेका छन् ।
सोमबार पनि अहिलेका अध्यक्ष उमानाथ पौडेल, वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, महासचिव लक्ष्मण अधिकारी, पूर्वअध्यक्षद्धय विष्णु न्यौपाने, उपाध्यक्ष हुमनाथ पौडेल दलका नेता, जनप्रतिनिधि, संघका पदाधिकारी बुद्धरंगशालामा बसी सर्वसम्मतको प्रयासलाई जारी राखेका छन् । अध्यक्षका प्रत्यासी डोलकराम घिमिरे र टोप नारायण बेलबासेलाई नै संगै राखी संघमा दिनहुँ छलफल भइरहेको अध्यक्ष पौडेलले बताउनु भयो ।
एक जना उद्योगी नेताका अनुसार अन्तिममा सर्वसहमतिबाट उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व आउने दाबी छ । ३ बर्षपछिको नेतृत्वमा ग्यारेन्टी गर्ने गरी लिखित सहमति जनाइए बेलबासे या घिमिरेमध्ये एक जनाले अध्यक्षको आकांक्षा त्याग्ने गरी सहमति हुन लागेको ती नेताले मायादेवीसंग बताए ।
हरेक बर्ष त्याग गर्दै आउनु भएका डोलकराम घिमिरेले भावी अध्यक्षको ग्यारेन्टी हुने गरी लिखित प्रतिवद्धता जनाइए यसपटक पनि त्याग गरी बेलबासेलाई समर्थन गर्न सक्ने अवस्था रहेको ती नेताले बताए । तर घिमिरेले भने भोलीका दिनमा फेरि घात हुन सक्ने भन्दै शंका व्यक्त गर्नुभएको छ । काँग्रेसले त्याग गरे सहमति हुने नगरे नहुने भन्ने नेकपाको धारणा ठिक नभएको एक नेताले मायादेवीलाई बताए ।
चुनाव हुँदा संघ अघि जान नसक्ने भन्दै सहमति नभए अहिलेका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालको पक्षमा पनि माहौल बन्न सक्ने अवस्था रहेको संघकै पदाधिकारी बताउँछन् । चुनावले किचलो हुने अवस्था आए आफूले पनि अध्यक्षमा दाबी गर्ने भुसालले मायादेवीसंग बताउनु भयो । यस्तो स्थिति सकेसम्म नआउने र आएमा ब्यवसायीले पनि साथ दिने भुसालले मायादेवीसंग बताउनु भयो ।
प्रतिक्रिया