७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

रुकुम पश्चिममा सार्वजनिक बिदासहित जनयुद्ध दिवस मनाउने तयारी



रुकुम पश्चिम ।

रुकुम पश्चिममा सार्वजनिक बिदासहित विविधि कार्यक्रमका साथ जनयुद्ध दिवस मनाइने भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रतिनिधि सम्मिलित जिल्ला सभाको बैठकले प्रदेश र संघ अन्तर्गतका कार्यालयलाई समेत जनयुद्ध दिवसका अवसरमा बिदा दिन अनुरोध गर्ने निर्णय गरेको छ ।

सोही बैठकले जनयुद्ध दिवस मूल समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माका अनुसार जनयुद्ध दिवसका अवसरमा सानीभेरी गाउँपालिकामा जिल्लास्तरीय कार्यक्रम आयोजना हुनेछ ।

रुकुम पश्चिममा फागुन १ गतेदेखि १३ गतेसम्म जनयुद्ध दिवस र १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय भएको छ । बैठकले जनयुद्ध दिवसका अवसरमा जिल्लामा लाग्दै आएका जनवादी मेलालाई भव्य बनाउने, सकेसम्म थप कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

केही वर्षयता सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा गुरिल्ला म्याराथन आयोजना गर्दै आएको छ । जिल्लास्तरीय कार्यक्रममा सहिद परिवार, जनयुद्धका घाइते तथा अपाङ्गलाई सम्मान गर्ने कार्यक्रम रहने जनाइएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७ आइतबार ००:००  ४ : ३४ बजे