बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाले वर्तमान प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको बताएकी छन् ।
रिपोटर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा शनिबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले ओलीले लोकतन्त्रको समेत घाँटी निमोठेको टिप्पणी गरिन् ।
आफैले बनाएको संविधान, कानुन तथा विधिबाहिर रहेर प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले सर्वसत्तावाद लादेकाले उनले बताइन् । ‘आफ्नै हातमा रहेको शासन र पद्धति बचाउन नसक्ने कम्युनिस्टहरु पतनको स्थितिमा गए । उनीहरुको ठाउँ छैन,’ उनले भनिन्, ‘अब जनता जाग्नुपर्छ ।’
प्रतिनिधिसभालाई लहडमा भंग गर्ने, न्यायपालिकामा भएको बहसलाई ‘वाहियात’ भन्ने र फरक मतलाई होच्चाउने प्रधानमन्त्रीको आफैमा नैतिकता नरहेको उनले बताइन् । ‘यस्तो कदमको भ्रर्तसना गर्नु बाहेक अरु विकल्प छैन,’ उनले भनिन् ।
सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिनुपर्ने उनले बताइन् । ‘कांग्रेस न्यायालयले अलोकतान्त्रिक कदम सच्चाउछ भन्ने प्रतीक्षामा छ,’ उनले भनिन् ।
प्रतिक्रिया