८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना अनुभूतिः डाक्टरले आश मारेका थिए, कसरी पुर्नजीवन पाएँ थाहा छैन !



चन्द्रकान्त न्यौपाने, चारनम्बर ।

नमस्ते कपिलवस्तु यातायातलाई ब्राण्डिङ गरी मुलुकभर चिनाउन सफल युवा व्यवसायी कुमार खड्काले अन्तः कोरोनालाई जित्नु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाइमा स्थायी घर भएका खड्काले काठमाण्डौँ टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालमा ३५ दिनको सकसपूर्ण बसाईपछि कोरोना जित्नु भएको हो । एकदिन अघि भएको कोरोना जाँचमा रिपोर्ट नेगेटिभ भएपछि कोरोनालाई जित्न सफल भएको उहाँले आफ्नो फेसबुकमार्फत जानकारी गराउनु भएको छ । अब आफू अब पुरै निको भएर छिटै घर फर्कने उहाँले मायादेवीसंग बताउनु भयो ।

मैले पर्नुजीवन पाएँ, अब जीवन ’बोनस‘ हो

कुमार खड्का खाइलाग्दा, आँटिला, उच्च आत्मविश्वासले पूर्ण जङ्गी स्वभाव भएका युवा हुनहुन्छ । उहाँको शरीर हृष्ट, पुष्ट बलिष्ठ देखिन्छ । तर, रोगले यी सबै चिजलाई कमजोर बनाउने रहेछ उहाँको कोरोना अनुभूतिले प्रमाणित गरेको छ । उमेरले ४० बर्ष नाघ्नु भएका खड्कालाई कसरी कोरोना भयो थाहा छैन । यद्यपी ब्यवसायसंगै सामाजिक काममा लाग्ने क्रममा कोरोना भएको हुन सक्ने उहाँले मायादेवीसंग बताउनु भयो ।

कोरोनाको सामान्य लक्षण देखिएपछि खड्कालाई पुस १३ गते अलि बढी नै बनायो । उसो त उहाँले ५ दिनअघि नै बुटवलको नेशनल प्याथ ल्याबमा कोरोना जाँच गराउनु भएको थियो । त्यति बेला उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँ कोरोना अस्पताल नगई के होला र ? भनी पुनः घरमा फर्कनु भयो । र आवश्यक सावधानी अपनाएर बस्नु भयो । तर दिन प्रतिदिन उहाँ कमजोर बन्दै जानुभयो । रोगले अलिक बढी नै च्याप्न थाल्यो । त्यसपछि उहाँले खप्न सक्नु भएन । १३ गते त उहाँलाई श्वास फेर्न पनि निकै कठिन भएछ । त्यसपछि उहाँले अब केही सोच्नै पर्ने भनी कोरोनालाई सामान्य ठान्न छोड्नु भयो र बुटवलबाट एम्बुलेन्स बोलाउनु भयो । मध्यान्ह १२ बजे एम्बुलेन्स आयो । अक्सिजनन लगाएर उहाँ काठमाण्डौँ हिँड्नु भयो ।

उहाँलाई सकस भइरहेको थियो । त्यसका बाबजुत अक्सिजन लगाएरै उहाँलाई त्यही दिनको राति ८ बजे काठमाण्डौँ टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालमा पुर्याइएको थियो ।

खड्कालाई राति नै अस्पतालको पहिलो क्याविनको पहिलो नम्बरको बेडमा भर्ना गरियो । उहाँको अवस्था त्यतिखेरसम्म निकै शिथिल भइसकेको थियो । तुरुन्तै खड्कालाई अस्पतालले भेन्टिलेटरमा राखेको रहेछ ।

खड्कालाई भेन्टिलेटरमा राखेपछि घरपरिवारमा एक प्रकारको रुवाबासीको स्थिति थियो । खड्का झन भन्दा झन शिथिल हुँदै जानु भयो । यता उहाँका साथीभाई र शुभचिन्तक सबै चिन्तित थिए । १५ दिनसम्म उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

कोरोना जितको खुसीमा शुक्रबार साँझ खड्काले मायादेवीसंग भन्नुभयो-‘खै कसरी बाँचे मलाई थाहा छैन । मेरो यो बोनस जीवन हो । पुर्नजीवन हो ।’

टेलिफोनमा मधुर स्वरमा बोल्नु भएका उहाँले थप्नुभयो- ‘सर्वप्रथम मलाई बचाउन हररात मिहिनेत गर्ने टेकु अस्पतालका चिकित्सक, नर्श र कर्मचारीप्रति आभारी छु । उहाँहरुले मलाई बचाउन निकै मिहिनेत गर्नुभएको छ । त्यसपछि मेरो बचाईको लागि प्रार्थना गरिरहनु भएका आमाबुबा, श्रीमती, छोराछोरी र इष्टमित्र शुभचिन्तकलाई पनि धेरै धेरै धन्यबाद दिन चाहन्छु ।’

खड्काले भेन्टिलेटरमा रहँदाको १५ दिनमा के-के भयो ? केही थाहा नभएको मायादेवीसंग सुनाउनु भयो । ‘मलाई भेन्टिलेटरमा राखियो । त्यसपछि १५ दिनसम्म म कस्तो भएँ ? के गरेँ ? केही पनि थाहा भएन । म अचेत लासजस्तै थिएँ । मेरै क्याबिनका १० देखि १५ जना मरेका, पछि मैले थाहा पाएँ । मेरै अगाडी मान्छे मरिरहेका थिए । मेरो अवस्था त्यहाँ भएकामध्ये सबैको भन्दा नाजुक र क्रिटिकल थियो । डाक्टरले पनि मेरो आशा मारेका थिए । उहाँले दुखपूर्वक सुनाउनु भयो ।

उहाँले आफ्नो क्याविनमा भएका बाँच्छन् भन्नेहरु सबै मरेपछि जीवनबाट हार खाइसकेको पनि मायादेवीलाई बताउनु भयो । ‘मेरो बारेमा थाहा पाएका नर्स, डाक्टर सबै रुन्थे मर्छ भनेर, म परिवारलाई सम्झेर रुन्थेँ । तर, टेकु क्यबाविनबाट एक्लो बाँचेर सामान्यतर्फ फर्कँदै छु । पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ ’ उहाँले भन्नुभयो ।

टेकु अस्पतालको ३५ दिन निकै कठिन भएको उहाँले बताउनु भयो । १५ दिनसम्म अचेत भए पनि बाँकी २० दिनको स्मरण गर्दा यस्तो दुख अहिलेसम्म नपाएको उहाँको भनाई छ । ‘उच्च ज्वरो, रातदिनको खोकी, ज्यानको त्यो दुखाई । न हेर्ने मानिस । न खुवाउने मानिस । एक्लै छट्पटन्छु । रुन्छु । तर पनि शान्तवना दिने मानिस कोही छैन । भएका सबै मजस्तै जीवन मरणसंगै लडिरहेका हुन्थेँ । अरु सकस कस्तो थियो धेरै नसोध्नुहोस् । कोरोनाको यो पीडामा अब कोही पनि नपरोस्’ उहाँले थप्नु भयो ।

आफू हट्टाकट्टा भए पनि यो बेला केही गर्न नसकेको उहाँको अनुभूति छ । अहिले आफू काठमाण्डौँमै अक्सिजनसहित रहेको भन्दै अब केही दिनपछि डाक्टरले डिस्चार्ज गर्ने उहाँले बताउनु भयो । ‘हिँड्दा, डुल्दा, खाना खाँदा पनि अक्सिज लिएर हिँडेको छु । यी काम गर्दा अक्सिजन डाउन गर्छु । कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । बाँच्न पाएकोमा खुसी छु । अब त मर्दिन । बाँचे । परिवार खुसी छन । सारा खुसी छन् । सबैको प्रार्थनाले बाँचे । भगवानले बचाउनु भयो । मेरो बचाइमा डाक्टर नर्सले खुबै दुख पाउनु भयो । बाँचेको शरीर लिएर छिटै घर फकँदै छु । १४ दिनपछि फलोअप जाँच हुन्छ । कोरोना रिपोर्ट नेगेटिभ आए घर फर्कन्छु’ उहाँले खुसीपूर्वक भन्नुभयो ।

आफू बाँचेपछि अस्पतालमा नै खुसीको वातावरण सिर्जना भएको पनि उहाँले बताउनु भयो । अहिले चिकित्सक नर्स सबैले आफूलाई पुर्नजन्म पाएको भन्दै बधाई दिन थालेको पनि खड्काले बताउनु बताउनु भयो ।

सुरुमा कोरोनालाई आफूले पनि सामान्य ठानेको भन्दै भुलेर पनि यस रोगमाथि हेलचेक्क्रयाई गर्न नहुने अस्पतालको वेडबाट उहाँको सुझाव छ । आफूले पनि केही हुँदैन भनेर लापरबाही गर्दा यो स्थितिमा पुगेको भन्दै संसारकै सबैभन्दा डरलाग्दो र पीडादायक रोग कोरोना नै रहेको आफूले अनुभूति गरेको पनि खड्काले सुनाउनु भयो ।

आफूलाई बचाउन अस्पतालका नर्सले धेरै भूमिका खेलेको भन्दै अस्पताल प्रशासनलाई पनि उहाँले धन्यबाद दिनु भएको छ । सरकारी अस्पतालको ब्यवस्थापन राम्रो हुँदैन भने पनि टेकुमा त्यस्तो नभएको उहाँको अनुभूति छ । सरकारी अस्पताल यति धेरै ब्यवस्थित र जनताप्रति उत्तरदायी हुने रहेछ भन्ने कुरा टेकु अस्पतालमा बसेर थाहा पाएको भन्दै सरकारी अस्पताललाई विशवास गर्न उहाँको सुझाव छ । खड्का घरमा अहिले आमाबुबा, श्रीमती एक छोरा र एक छोरी छन् । आफू बाँचेपछि सबैमा खुसी छरिएको पनि उहाँले बताउनु भयो ।

प्रकाशित मिति : १६ माघ २०७७ शुक्रबार ००:००  ८ : ५५ बजे