पाल्पा ।
जिल्लाको रम्भा गाउँपालिकामा कक्षा ८ सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमितरुपमा कक्षा कोठामा उपस्थिति हुन थालेको विद्यालयले जनाएको छ ।
रम्भा गाउँपालिका शिक्षा शाखा संयोजक काशीराम बस्यालले कक्षा ५ सम्ममा सञ्चालित दिवा खाजा कार्यक्रम यस आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई पनि प्रदान गरिएको बताउनुभयो ।
सङ्घीय सरकारको सहयोगमा कक्षा पाँचसम्म सञ्चालनमा रहेको यो कार्यक्रम गाउँपालिकाको लगानीमा कक्षा ८ सम्म सञ्चालनमा आएको संयोजक बस्यालले बताउनुभयो । खाजा कार्यक्रमपछि दिनभर घरमा बस्ने बालबालिका नियमितरुपमा उपस्थिति हुने र कक्षा छाडने दर न्यून भएको बस्यालको दाबी छ ।
कक्षा पाँचसम्मका लागि २० लाख र कक्षा ६ देखि ८ सम्मलाई रु १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरी सबै बालबालिकालाई विद्यालयमा नियमित गराउन थालेको छ । तिनाउ गाउँपालिकास्तरीय शिक्षा समितिका सदस्य चक्रब्यूह थापाले दिवा खाजा कार्यक्रमले विद्यार्थी सङ्ख्या बढेको बताए। शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुँदा शिक्षण सिकाइ प्रक्रियासमेत प्रभावकारी बनेको सदस्य थापाको भनाइ छ ।
प्रतिक्रिया