मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना खोप (कोभिडशिल्ड) लगाउन कपिलवस्तुमा तिन खोप केन्द्र थप भएका छन् । सरकारले देशभर निश्चित स्थान अर्थात् खोप केन्द्र तोकेकोमा सुरुमा कपिलवस्तु जिल्ला अस्पताललाई मात्र खोप केन्द्रको अनुमति दिएकोमा अहिले अरु ३ पालिकाका स्वास्थ्य संस्थाले पनि खोप केन्द्रको अनुमति पाएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछि थप भएका खोप केन्द्रहरुमा पिपरा अस्पताल (बाणगंगा), शिवराज अस्पताल (कृष्णनगर) र शिवराज आधारभूत अस्पताल (शिवराज) नगरपालिका रहेका छन् । अब ती अस्पतालका स्वास्थ्यकर्मीलाई आवश्यक प्राविधिक ज्ञान तथा प्रशिक्षण दिएपछि त्यहाँबाट नै कोरोना खोप लगाउन सकिने उहाँले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
सुरुमा फ्रन्टलाइनमा रहेर काम गर्ने जिल्लाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शवबाहन तथा एम्बुलेन्स चालक आदिलाई पहिलो चरणमा पहिलो डोज दिइने छ । त्यसपछि संचारकर्मी लगायत अरुलाई पनि खोप दिइने उहाँको भनाई छ ।
प्रतिक्रिया