काठमाडौं ।
समयमा पानी नपर्दा ‘ड्राइ कोल्ड’ अर्थात् सुख्खा चिसो बढेको छ । अहिले देशभर चिसो बढे पनि पानी नपर्दा प्रदूषणका कारण मौसम धुम्मिने गरेको छ ।
पहाडी क्षेत्रमा घाम लागे पनि वायुमण्डलमा प्रदूषण थुप्रिँदा सूर्यका किरण पर्याप्त मात्रामा पृथ्वीमा पर्न पाएको छैन । यसले गर्दा जमिन तात्न नपाएको र चिसो बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।
पानी नपरेसम्म मौसम यस्तै रहने पनि उहाँले बताउनुभयो । मौसमविद्ले यसपालि खासै पानी पर्ने सम्भावना नरहेको बताएकाले प्रदूषणसँगै स्वास्थ्य समस्या र कृषिमा नोक्सानी पुग्न सक्ने अनुमान गरिएको छ । यसपालि हिमाली जिल्लामा पनि पर्याप्त हिमपात भएको छैन ।
यसले हिउँबाटै सिँचाइ हुने कृषि र बहुमूल्य जडिबुटीको उत्पादनमा कमी आउने देखिएको छ । पानी पार्ने गरी पश्चिमी वायुको प्रणाली प्रवेश नगर्दा अहिले चिसो हावा मात्रै लाग्ने गरेको छ । यस्तै, आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो ३ बजेदेखि भने तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने तर राति फेरि लाग्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । आज काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया