बुटवल ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा गुड्ने टिप्परहरुको लागि टाइम कार्ड लागू गरेको छ। तीब्र गतिमा सडकमा गुड्ने टिप्परका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले टाइमकार्ड लागू गरेको हो।
पहिलो चरणमा खानीस्थल पाल्पाको दोभानदेखि भैरहवा अञ्चलपुर र बुटवल धागो कारखानासम्म तथा धागो कारखानादेखि नवलपरासीको सुनवलसम्म टाईम कार्ड लागू गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर बिकले जानकारी दिए।
टाइमकार्ड अनुसार दोभानदेखि धागो कारखानासम्म ११ किलोमिटरको दुरीमा प्रतिघण्टा २० किलोमिटरको गतिमा मात्रै टिप्पर चलाउन पाइनेछ।
जस अनुसार यो दूरी पार गर्न ३३ मिनेट समय तोकिएको छ। त्यसैगरी धागो कारखानादेखि सुनवलसम्म २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिमा मात्र टिप्पर गुडाउन पाइन्छ। यो दुरीको लागि ४६ मिनेट समय तोकिएको छ।
दोभानदेखि भैरहवासम्मको २६ किलोमिटर दूरीमा प्रतिघण्टा ३० किलोमिटरको गतिले ५६ मिनेट समय तोकिएको प्रहरी उपरीक्षक बिकले बताए।
टिप्परले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनुपर्ने र तोकिएको समयभन्दा छिटो गन्तव्यमा पुग्न नपाउने कार्यालयले जनाएको छ।
प्रतिक्रिया