बुटवल ।
जलाएर फालेको अवस्थामा रूपन्देहीमा एक जना पुरूषको शव फेला परेको छ। जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७, गरकट्टीस्थित दानव नदी छेउको खेतमा जलाएको अवस्थामा एक युवाको शव फेला परेको रूपन्देही प्रहरीले जानकारी दिएको छ।
अन्दाजी ३५/४० वर्षका ती पुरूषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले खेतमा फेला परेको र शव आंशिक रुपमा जलेको जानकारी दिए।
घटनास्थलमा रगत र प्लाष्टिकको पाइप समेत भेटिएको र शवको पहिचान भने हुन नसकेको पोखरेलले बताए। शव कसको हो र कसले किन हत्या गर्यो भन्ने अझैसम्म खुल्न नसकेको उनले बताए। सनाखतका लागि १ सय बढी स्थानीयलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न दोषीको पहिचानका लागि नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ।
प्रतिक्रिया